डिल्लीराज धिताल 
पूर्व शिक्षक
कुनै पनि देशको राष्ट्रिय पहिचान भनेको त्यस देशको वर्तमान राजनीतिक शासन व्यवस्था र कुशल राजनीतिक नेतृत्वलाई चिन्नु हो । कुशल राजनीतिक नेतृत्वले आफ्नो व्यक्तित्वलाई कायम राख्दै अन्तर्राष्ट्रियस्तरमा महत्वपूर्ण भूमिका खेल्न सक्नु पर्दछ। त्यसको लागि हाम्रै देशका राजनेताहरू बीपी कोइराला, वीर गणेशमान, सन्त नेता कृष्णप्रसाद भट्टराई, मार्क्सवादी परिवर्तनकारी पुष्पलाल श्रेष्ठ, नवीन क्रान्तिकारी सोचका मदन भण्डारी, समाजवादी एवं सुधारवादी नेता मनमोहन अधिकारीलाई हेर्दा पर्याप्त हुन्छल।
आज नेपाली जनताहरुले यी नेताहरुले अवलम्बन गरेको नीतिलाई पछ्याउने नेता खाेजेकम छन् । तर, दोस्रो पिढीका नेताहरुले बकमफुसी नेताहरूले ती राजनेताहरूको आत्मालाई रुवाइरहेका छन् ।
वास्तवमा राजनीतिक दलहरू गणतान्त्रिक लोकतन्त्रमा आवश्यक सामग्री हुन्। बहुमतको सरकार, बलियो प्रतिपक्ष दल गणतन्त्रमा सुहाउने एक नभई नहुने तत्व हुन् । तर आज नेपालमा सिद्धान्तलाई नजरअन्दाज गरी सबै दलका भ्रष्टहरु मिलेर ‘काले काले मिलेर खाउ भाले’ भन्ने उखान चोरीतार्थ छ । कहीँ नभएको जात्रा हाडीगाउँ हाम्रै नेपालमा छ। जन आवाज उठाउने कोही पनि दल छैनन्।
सत्तामा भागबण्डा पाई मोजमस्ती र मनपर्दो गर्न पाए भयो । यस्तो सोच छ यिनीहरूको । अब त यिनीहरुलाई नेता भन्दा पनि घिन लागेर आउँछ । सत्तामा सिद्धान्तलाई बिर्सिएर स्वार्थपूर्तिको लागि बस्ने । अनि फेरि कुरा नमिल्ला अपवित्र गठबन्धन गरी पुनः भाडभैलो मचाउने ।
देशमा महामारी, पहिरो, अन्याय, अत्याचार, शिक्षा, स्वास्थ्य, कृषि जस्ता संवेदनशील विषयमा आँखा चिम्लेर बस्ने सरकारका प्रतिनिधिहरूले राम्रो काम नगर्ने । सन्तोषका साथ बस्नुपर्ने हामी निमुखा जनता । देश चलाउने सरकारको कर्मचारी तन्त्रले नै हो। कर्मचारीले अलिकति इमानदारी गरिदिने हो भने पनि नेपाली जनताले राहत पाउन सक्छन् । तर, दुर्भाग्यपूर्ण सत्ताको लुछाचुडीले स्वच्छ र निर्भिक हुनुपर्ने कर्मचारीतन्त्र पनि आतंक मच्चाउन खोज्छ। अवैध धन्दाका लागि दलाल र भ्रष्टहरूको मतियार बन्न पुग्छ।
देश दलदलमा भाँसिँदै गएको छ । आज देशमा वर्षाको मौसम आइसक्यो । कृषकहरु पहिले त जेठो खेती मकैलाई कुरेर बसेका हुन्छन् । संयोगले पनि यस साल मकै खेतीको लागि समयमा पानी नपर्नाले ढिला गरी मकै छरे । अति वृष्टिले गर्दा न खेतमा न बारीमा भनेजस्तो भयो । किनभने सिचाई उपलब्ध नभएको स्थानमा धानको ब्याड राख्न ढिलो भयो । यो त प्राकृतिक घटनालाई के भन्ने । सहने बाहेक अरु उपाय हुँदैन।
कृषकलाई चाहिने गुणस्तरीय मल र बिउ समयमै उपलब्ध गराउने सरकारको दायित्व हो । यो वर्ष हाइब्रिड धान ३१२ जस्ता विदेशी बिउहरू नेपालमा भित्र्याएर गुणस्तरहीन अवस्थामा छन् । यो जातिको धान दाङमा करिब ६० प्रतिशत मात्र अंकुरन भएको तथ्याङ्क छ ।
यो किसानमारा सरकारले थोरै भएपनि श्रम मान्नुपर्ने हो। किनभने विगतमा ८०/९० प्रतिशतसम्म अंकुरित धान यस वर्ष किन यस्तो अवस्थामा भयाे । धेरैजसो किसानका खेती गर्ने खेतहरु बिउको अभावमा बाझै रहने सम्भावना देखिएको छ । के यो सरकारले बेहोर्ने हो । सकेसम्म गुणस्तरीय बिउ देशमै उत्पादन गर्नुपर्ने हो । नभए विदेशबाट आयतित गरेको वस्तुको गुणस्तरीय जाँच गर्ने यन्त्र राख्नुपर्ने होइन र ? समयमै सोझा साझा किसानका बारेमा सरकारले संवेदनशील भएर सोच्ने र व्यवस्थापन गर्ने दिन कहिले आउने हो । सम्बन्धित निकायले यो वास्तविकतालाई हृदयङम गरी कृषकको समस्यालाई बुझिदिने काम गरोस्। यही अनुरोध छ। अहिलेलाई यति ।

									
									
									
									
									
									

						


										
										
										
										




