राष्ट्रिय जनगणना शुरु : दाङको जनसंख्या साढे ६ लाख बढी पुग्ने अनुमान

  • जीतसागर जी.एम.

दाङ  । दाङसहित देशभर बिहिबारदेखि राष्ट्रिय जनगणनाको काम शुरु भएको छ । दाङमा जनगणनाका लागि ८ सय ४ जना गणक खटिएका छन। दाङका दश वटै पालिकामा ८ सय ४ गणक खटिएको जनगणना कार्यालय दाङका प्रमुख तुलसीराम पोखरेलले जानकारी दिए ।

उनका अनुसार तुलसीपुरमा २२३, घोराहीमा २५०, बंगलाचुलीमा ३८, दंगिशरणमा २७, बबई गाउँपालिकामा ३८, शान्तिनगरमा ३३, लमहीमा ७२ जना गणक खटिएका छन् ।

यस्तै राप्ती गाउँपालिकामा ५८, गढवा गाउँपालिकामा ४८ र राजपुरमा २६ जना गणक खटिएका छन् । यस्तै नेपाली सेनाका २ जना, प्रहरीका २ जना गणक खटिएको प्रमुख पोखरेलले बताए । जनगणनाका लागि यसअघि सुपरिवेक्षकले घर सुचिकरण गर्ने काम गरेका छन् ।

गत भदौ ३० गतेदेखि असोज १८ गतेसम्म सुपरिवेक्षकले घर सुचिकरण गर्ने काम सकिसकेका छन् । सूचीकृत भइसकेका र कुनै कारणबस छुटेका समेत सबै परिवारमा गणकहरु पुगेर बिहिबारबाट व्यक्तिहरुको विस्तृत विवरण संकलन गर्न शुरु गरेका छन् ।

गणकले परिवारमा बसोबास गर्ने महिला पुरुषको संख्या, स्वदेश भित्रै तर अन्यत्र बस्नेको संख्या र विदेशमा भएको संख्याको साथै विदेश रहेकाको थप विवरण लिनेछन् । यसैगरी परिवार बसेको घरको स्वामित्व, घर निर्माणमा कुन र कस्तो सामाग्री प्रयोग भएको छ त्यसको विवरण, परिवारमा खानेपानीको स्रोत, बत्तीको स्रोत,खाना पकाउने इन्धन, परिवारको शौचालयको अवस्थाबारे जानकारी लिने प्रमुख पोखरेलले बताए ।

यसैगरी परिवारमा प्रयोग भएका घरायसी सुविधा र साधनहरु रेडियो,टिभी,ईन्टरनेट,कमप्युटर,मोटरसाइकल,कार, वासिंङ मेसिन आदिको तथ्याङ्क समेत संकलन गरिनेछ ।

यस्तै परिवारमा कृषि बाहेक साना घरेलु व्यवसाय सञ्चालन छ कि छैन, छ भने संचालक पुरुष कि महिला, परिवारमा महिला विदेश रहेको भए सो महिलाको नाम, देशको कुनै पनि स्थानमा घर जग्गा छ कि छैन, परिवार भित्र गत १२ महिनामा भएको मृत्युको विवरण, १५–४९ बर्ष उमेरका विवाहित महिलाको मृत्युको विवरण गणक कर्मचारीहरुले लिनेछन् ।

यस्तै व्यक्तिगत विवरणमा व्यक्तिको लिंग, जन्ममिती सहितको उमेर, जातजाति, धर्म,कुन देशको नागरिक हो, कुनै किसिमको अपाङ्गता छ वा छैन, १० बर्ष माथीकाको लागि विवाहित स्थिति, विवाहित भए पहिलो पटक विवाह गर्दाको उमेर, ५ बर्ष माथीकाको लागि शैक्षिक अवस्था, १५–४९ बर्ष उमेरका विवाहित महिलाको प्रजनन विवरण, १८ बर्ष मुनिका बालबालिकाको संरक्षक को हो, १० बर्ष उमेर सो भन्दा माथीकालाई कुनै प्रकारको आर्थिक क्रियाकलापमा संलग्न छ कि छैन, छ भने कस्तो किसिमको क्रियाकलापमा संलग्नता छ सो को विवरण लिइने जिल्ला जनगणना कार्यालयका प्रमुख पोखरेलले बताए ।

यस्तै ६ महिना भन्दा कम आर्थिक क्रियाकलापमा गरेको छ भने किन काम नगरेको लगाएतका विवरणहरु मुख्य प्रश्नावलीमा सोधिनेछ । मुख्य गणनाकै क्रममा सुपरिवेक्षकहरु आफू खटिएको वडा कार्यालयमा पुगी करिब ८० वटा प्रश्न भएको सामुदायिक प्रश्नावली सहितको विवरण भर्ने समेत उनले बताए ।

मङ्सिर ९ गते गणकहरुले घर ठेगाना नभएका घुमन्ते फिरन्ते हरुको गणना गर्नेछन् । आउदो मंसिर ९ गतेलाई सरकारले जनगणना दिवस मनाउने जनाइएको छ । दाङमा करिब १ लाख ६५ हजार घर परिवार रहेको तथ्यांक प्राप्त भएको प्रमुख पोखरेलले जानकारी दिए ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *