चेतना अनलाइन
घाेराही, १७ भदाै । नेकपा (एमाले) दाङले आफ्ना पुराना सेल्टरदाता एवं दाङको शैक्षिक तथा राजनीतिक आन्दोलनका अग्रणीय व्यक्तित्व केशव कुमार आचार्य “किसान” को स्मृतिमा श्रद्धाञ्जली सभा गरेको छ ।
यही भदौ ८ गते दिवंगत हुनुभएका आचार्य पञ्चायतकालीन समयमा तत्कालीन पार्टीको सेल्टरदाता हुनुहुन्थ्यो । उहाँकै निवास घोराहीमा आयोजित श्रद्धाञ्जली सभा कार्यक्रममा बोल्दै नेकपा (एमाले) का पोलिट ब्युरो सदस्य एवं दाङ जिल्ला इन्चार्ज नरुलाल चौधरीले दिवंगत किसानको निधनले दंगाली कम्युनिष्ट आन्दोलनलाई अतुलनीय क्षति पुगेको बताउनुभयो । उहाँले मुलुक परिवर्तनका लागि भएको संघर्षमा किसान जस्ता थुप्रै सेल्टरदाताहरूले विशिष्ट योगदान पुर्याएको स्पष्ट पार्नुभयो । किसानको परिवारले अहिले पनि मुलुकको आन्दोलन र विभिन्न क्षेत्रमा याेगदान पुर्याइरहेको धारणा व्यक्त गर्नुभयो ।
नेकपा (एमाले) केन्द्रीय अनुशासन आयोगका सदस्य छविलाल ओलीले पञ्चायत विरोधी संघर्षका क्रममा किसान परिवारले आफूहरुलाई सुरक्षित रूपमा सेल्टर दिएर निकै सहयोग पुर्याएको बताउनुभयो । ” उहाँहरूको परिवार नै परिवर्तन र आन्दोलनप्रति समर्पित परिवार हो,” ओलीले भन्नुभयो, ” अहिले पनि उहाँहरु निरन्तर पार्टीको पक्षमा लागिरहनुभएको छ ।”
एमाले केन्द्रीय सल्लाहकार शम्भु गौतमले पार्टी निर्माण तथा मुलुकको परिवर्तनमा यस्ता हजारौं योद्धाहरूको भूमिका निकै प्रशंसनीय भएको बताउनुभयो ।
कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएका नेकपा (एमाले) दाङका उपाध्यक्ष मनोहर बुढाथोकीले सेल्टर दाता किसान र उहाँका सन्तानहरू सधैं पार्टी र आन्दोलनप्रति प्रतिबद्ध भएको उल्लेख गर्नुभयो । एमाले दाङका पूर्व अध्यक्ष एवं तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले नयाँ पुस्ताले अग्रजहरूको योगदानलाई कहिले भुल्न नहुने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका सचिव अर्जुन योगी, नेकपा (माओवादी) केन्द्र दाङका सचिव विश्वराज आचार्य, बौद्धिक परिषद्का केन्द्रीय सदस्य विकास गौतम, मिनराज शर्मा लगायतले बोल्नुभएको थियो ।
परिवारको तर्फबाट उहाँका सहदर भाइ अजितकुमार आचार्यले दिवंगत किसानको व्यक्तित्व र योगदानबारे चर्चा गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन एमाले दाङका जिल्ला सदस्य दिनेश आचार्यले गर्नुभएको थियो ।
दिवंगत किसानका जीवनसंगिनी जयन्ता आचार्य, छोराहरू श्याम आचार्य, सुरज आचार्य र छोरीहरू अन्जु आचार्य र मञ्जु आचार्य हुनुहुन्छ ।