चेतना अनलाइन
घोराही, २८ फागुन । ठगी गरेको आरोपमा ठेकेदार अनुप पाण्डेय पक्राउ परेका छन् । घोराही तुलसीपुर चारलेन सडक निर्माणका क्रममा विभिन्न व्यक्तिहरुलाई आर्थिक ठगी गरेको आरोप लागेका दाङ तुलसीपुरका निर्माण व्यवसायी पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो ।
सडक निर्माणका क्रममा टिप्परहरु प्रयोग गरेको र डिजेल समेत उपलब्ध गराएको रकम नदिएको भन्दै घोराहीका गेहेन्द्र बस्नेतले पाण्डे बिरुद्ध जिल्ला प्रहरी कार्यालय दाङमा एक साता पहिले उजुरी दर्ता गराउनुभएको थियो । त्यस लगत्तै प्रहरीले जिल्ला अदालत सँग पक्राउका लागि अनुमती मागेको थियो ।पाण्डेलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले शनिबार बिहान काठमाडौको काँडाघारीबाट पक्राउ गरेको हो । पाण्डेले बस्नेतलाई एक करोड ४४ लाख १७ हजार ७ सय ७६ रुपैयाँ तिर्नुपर्ने उजुरीमा उल्लेख छ ।
पाण्डेले बस्नेतलाई सानीमा बैंकको चेक दिएका थिए । तर उक्त खातामा प्रयाप्त रकम नभएपछि तीन पटक चेक बाउन्स समेत भएको छ । ब्युरोले पाण्डेलाई जिल्ला प्रहरी कार्यालय दाङ पठाउने तयारी गरेको छ । पाण्डे बिरुद्ध ठगी र बैंकिङ कसुर सम्बन्धि मुद्धा दर्ता भएको दाङ प्रहरीले जनाएको छ । घोराहीको कुइरेपानी देखी तुलसीपुरको हात्तीखौवा सम्मको सडक चारलेनको बनाउने जिम्मा लिएको भारतिय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्टले स्थानिय प्रतिनिधीकारुपमा अनुप पाण्डेलाई निर्माणको जिम्मा दिएको थियो ।
३ बर्ष पहिले निर्माण शुरु भएको चारलेन सडकको काम अहिले पनि अलपत्र अबस्थामा छ । अनुप पाण्डेपछि आएका अन्य पेटि ठेकेदारले पनि काम गर्न नसकेर फर्किएका छन् । चारलेन सडक आयोजनाले अब तथ्यबाट काम हुन नसक्ने भन्दै सम्झौता तोडेर अघि बढ्ने तयारी गरेको आयोजना प्रमुख अर्जुजकुमार बमले बताउनुभयो । सन् २०१९ जुलाईबाट कार्य प्रारम्भ गरी मे २०२० मा सडक निर्माण कार्य सम्पन्न गर्न सवा एक अर्ब रुपैयाँको लागतमा भारतीय एक्जिम बैंकको सहयोगमा सडक बन्न लागेको हो ।
ठगी तथा बैंकिङ कसुरमा पक्राउ परेका अनुुप पाण्डे बिरुद्ध एक दर्जन उजुरी जिल्ला प्रशासनमा छ । निर्माण सामाग्रि लिएको, गाडी भाडामा लगाएको, मजदुरले काम गरेको, खाना खाएको, तरकारी किनेको पैसा नदिई आफुहरुलाई पाण्डेले ठगेको भन्दै प्रशासनमा निबेदन दिएका हुन् । प्रशासनमा ४ करोड ४५ लाख ४३ हजार रुपैयाँ पाउनुु पर्ने भन्दै निबेदन पुगेको छ ।
सोनापुर सिमेन्टले २ करोड ४७ लाख १० हजार ३ सय २७ रुपैयाँ, खड्कबहादुर विक सहित ३ सय मजदुरले ८० लाख ३९ हजार ६ सय ४५ रुपैयाँ, प्रकाश कुमार खड्काको टिप्पर प्रयोग गरेको ७ लाख, ठगेन्द्र घर्तीको स्काभेटर चालकको २ लाख २१ हजार ४ सय ७४, विष्णु श्रेष्ठले जेसिवी र ट्याक्टर प्रयोग गरेको ६ लाख १४ हजार २ सय १९ रुपैयाँ पाउनु पर्ने भन्दै प्रशासनमा निबेदन दर्ता गराउनुुभएको छ ।
त्यसैगरी, भ्याली पेट्रोल पम्पबाट डिजेल हालेको १६ लाख ७९ हजार ५ सय ३२, अम्बीका केसीको तरकारी पसलबाट तरकारी लिएको २ लाख ३१ हजार, पाण्डब बालुवा प्रशोधनमा ३० लाख ५ हजार २ सय ५०, विरबल खड्काको पसलबाट सरीया, सिमेन्ट लिएको ११ लाख, जितबहादुर वलीको बालुुवा ढुंगा ढुवानीको १० लाख, सञ्जाल धितालको १४ लाख १४ हजार एक सय, नर्मला थापाको पसलमा खाना खाएको ३४ हजार ९ सय ९२, झविन्द्रप्रसाद आचार्यकोमा खाना खाएको १४ लाख ७८ हजार ८ सय ४५, मानबहादुर खड्काको पसलबाट टायर लिएको एक लाख २५ हजार रुपैयाँ र तुलबहादुर खत्री सहित ५ जनाको एक लाख ५६ हजार ४ सय रुपैयाँ पाउनु पर्ने भन्दै निबेदन दिनुभएको छ ।
उक्त ठगीका उजुरीहरु प्रशासनले चारलेन सडक आयोजनाको कार्यालय लमहीमा पठाएको थियो । तर आयोजनाले ठगीएका व्यक्तिहरुलाई रकम दिन पनि नसक्ने र आधार पनि नभएको बताएको छ । निर्माण व्यवसायीले त्यसको जिम्मा लिनुपर्ने प्रतिकृया दिएको छ ।