चेतना अनलाइन
घोराही, २ फागुन । घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले समृद्ध नगर निर्माणका लागि सबैको सहभागिता आवश्यक भएको बताउनुभएको छ ।
रोल्पाली समाज सेवा दाङले घोराहीको वडा नं १३ मा निर्माण गर्न थालेको संस्थाको तीन तल भवन शिलान्यास गर्दै उहाँले सबै क्षेत्रबाट घोराहीमा आएका नागरिकहरुलाई समान दृष्टिले हेरिने बताउनुभयो । उहाँले घोराहीको विकासमा रोल्पाबाट बसाइसराइ गरेर आएका नागरिकहरुको भूमिका महत्वपूर्ण भएको समेत बताउनुभयो ।
‘दाङको भूमिमा विभिन्न पहाडी जिल्लाहरुबाट बसाइसराइ गरेर आउने क्रम बढिरहेको छ,’ चौधरीले भन्नुभयो, ‘यहाँ आएर व्यापार व्यवसाय गर्नेहरुले पनि महत्वपूर्ण योगदान पु¥याउनुभएको छ ।’
समाजका अध्यक्ष मदन वलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिवालय सदस्य भानसिङ बुढा, कांग्रेस नगर सभापति तिलक रावत, माओवादी नगर अध्यक्ष प्रमोद शर्मा र १३ न वडा अध्यक्ष रविलाल घर्तिले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
संस्थाका उपाध्यक्ष बाक्सिङ खत्रिको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सचिव कृष्ण बुढाले गर्नुभएको थियो ।