शहीद लखन थापाको योगदान पाठ्यक्रममा समावेश गर्न माग

दाङ, २९ माघ । प्रथम शहीद लखन थापा मगरले जहानियाँ राणा शासन अन्त्य गर्न पुर्‍याएको योगदानलाई पाठ्यक्रममा समावेश गर्न मगर संघले माग गरेको छ । थापाको योगदान र जीवनीलाई शैक्षिक पाठ्यक्रममा समावेश गरी उनको योगदानलाई कदर गर्न संघले सरकारसँग आग्रह गरेको हो । लखन स्मृति दिवस फागुन २ गते पर्छ ।

नेपाल मगर संघ रूपन्देहीले १४५ औं लखन स्मृति दिवस कार्यक्रम मनाउने सन्दर्भमा शनिवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा थापालाई राष्ट्रिय विभूति घोषणा गरी फागुन २ गते सार्वजनिक बिदा दिन माग गरेको हो ।

नेपाल मगर संघका केन्द्रीय भाषिक उपाध्यक्ष दलबहादुर वीरकट्टा मगरले सरकारले विद्यालय तहदेखि उच्च शिक्षाको सबै करिकुलममा थापाको बलिदानीको मूल्यांकन गरिनुपर्ने बताए ।

‘शहीद सप्ताह फागुन २ गतेसम्म लागू हुनुपर्छ,’ वीरकट्टाले भने, ‘फागुन २ गतेसम्म सप्ताह मनाए सबै शहीदको सम्मान हुन्छ । जंगबहादुर राणाविरूद्ध नेपालको इतिहासमै पहिलो जनविद्रोहका सूत्रधार थापा हुन् । उनलाई राज्यले सम्मान गर्दा देशको शिर उँचो हुन्छ ।’

२०७२ असोज २ गतेको मन्त्रिपरिषद् बैठकले थापालाई नेपालको प्रथम शहीद घोषणा गरेको थियो । मगर संघ रुपन्देहीका अध्यक्ष अनबहादुर सोती मगरले लखन स्मृति दिवसका दिने बुटवल राजमार्ग चौराहा अवस्थित उनको सालिकमा माल्यार्पण गरी दिवस मनाउने बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका सभापति पूर्णबहादुर घर्तीको सहभागिता रहने छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *