पाण्डव शर्मा
घोराही‚ १९ माघ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र दाङले संगठन विस्तार तथा जनसम्बन्ध सुदृढीकरण अभियान शुरु गरेको छ ।
जस अनुसार पार्टीका सबै पालिका कमिटीहरूले सांगठनिक अभियान शुरु गरेका छन् ।
अभियान अन्तर्गत …एक टोल एक पार्टी कमिटी‚ एक टोल तीन सेल कमिटी’ कार्यक्रम शुरु गरिएको माओवादी घोराही उपमहानगर अध्यक्ष प्रमोद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार अब सबै वडामा गएर सेल तथा टोल कमिटी गठन गरिने छ । पहिलो चरणको अभियान फागुन १ गते सम्म सञ्चालन हुने छ ।
यसबीचमा घोराहीमा मात्रै २० हजार साधारण सदस्यता वितरण गरिने छ । त्यसैगरी गाउँ तथा टोल भेला गर्ने‚ जवस मोर्चाका नगर तथा वडा भेला र बैठक गर्ने कार्यक्रम रहेको छ ।
एक वडा एक सय युवा परिचालन अभियान सञ्चालन गरिने शर्माले जानकारी दिनुभयो । …पहिलो चरणको अभियान फागुन १ गते जनयुद्ध दिवस मनाएर सम्पन्न हुने उहाँले जानकारी दिनुभयो । जनयुद्ध दिवस मनाइसकेपछि थप कार्यक्रमहरू तय हुने छन्‚’ शर्माले भन्नुभयो‚ राष्ट्रिय स्वाधीनता र जनताको पक्षमा माओवादीले दृढ अडान ल्याएकाले जनताका लहर निकै देखिएको छ ।’
माओवादी घोराहीले पार्टीलाई व्यवस्थित गर्न सांगठनिक कामहरू समेत शुरु गरिएको छ । संगठनको बैठक बसेर १२ ओटा विभागहरू समेत गठन गरिएको छ । त्यसैगरी नगर सदस्यहरुको जिम्मेवारी समेत तोकिएको छ । जन वर्गीय सङ्गठनहरूको इन्चार्ज समेत तोकिएको छ ।
बैठकमा बोल्दै प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल आचार्य …विमल’ ले नेपालमा वास्तविक कम्युनिष्ट पार्टी माओवादी मात्र भएकाले जनताको समर्थन माओवादीलाई नै हुने बताउनुभयो । अहिले देशी विदेशी शक्ति केन्द्रहरू नेपालबाट कम्युनिष्ट पार्टी समाप्त पार्न चाहन्छन्‚’ उहाँले भन्नुभयो‚ …केपी ओली अहिले नेपालबाट कम्युनिष्ट पार्टी समाप्त पार्ने अभियानमा हुनुहुन्छ ।’ मुलुकमा गणतन्त्र‚ संघीयता‚ धर्मनिरपेक्षता र समानुपातिक समावेशीको एजेण्डा माओवादीको भएकाले यसको रक्षाका लागि जनताले साथ दिने विश्वास व्यक्त गर्नुभयो ।
पार्टीका अर्का केन्द्रीय सदस्य हेमराज शर्मा …डायमण्ड’ ले माओवादीप्रति जनसमर्थन बढिरहेको उल्लेख गर्दै आगामी निर्वाचनमा माओवादीलाई जनताको व्यापक समर्थन हुने बताउनुभयो । उहाँले माओवादीलाई एक्ल्याउन विभिन्न षड्यन्त्र भइरहेको उल्लेख गर्दै त्यसलाई चिनुपर्ने बताउनुभयो ।