चेतना अनलाइन
काठमाडौं, १२ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यथास्थितिमा एमसीसी सम्झौता पारित गर्न नहुने बताउनुभएको छ । आज ८ औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा प्रचण्डले एमसीसी परियोजना परिमार्जन र संशोधनपछि मात्र पारित गर्ने नीति लिइएको उल्लेख गर्नुभएको हो ।
त्यसैगरी, अध्यक्ष प्रचण्डले संविधान संशोधनका लागि सडक, सदन र सरकारसित सबै क्षेत्रबाट संघर्ष गर्ने बताउनुभयो । उहाँले संविधानमार्फत उत्पीडित वर्ग, जाति, क्षेत्र तथा समुदायको पहिचान र अधिकारसहितको संघीयता संस्थागत गर्न नसकिएको बताउनुभयो ।
उक्त प्रतिवेदनमा समान विचार राख्ने वामपन्थी र लोकतन्त्रवादी शक्तिबीच संयुक्त मोर्चा बनाउने आगामी कार्यदिशा अपनाइने उल्लेख छ । वर्तमान संविधान विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिहरू जोगाउन पार्टीले विशेष भूमिका खेल्ने पनि उक्त प्रतिवेदनमा उल्लेख छ ।
अध्यक्ष प्रचण्डले शान्तिपूर्ण प्रतिस्पर्धाको बाटोबाटै समाजवाद स्थापना सम्भव भएको बताउनुभयो । त्यस्तै प्रचण्डले पार्टीको मार्गदर्शक सिद्धान्त मालेमावाद नै रहने उल्लेख गर्नुभएको छ । आजबाट सुरु भएको बन्दसत्रमा अध्यक्ष प्रचण्डले २१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक एवम् राजनीतिक दस्तावेज प्रस्तुत गर्नुभएको छ ।
यसैबीच महाधिवेशनमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न २५ वटा समूह बनाएको छ । प्रतिवेदनमाथि समूहगत छलफल गरी सुझाव प्रस्तुत गर्न आज २५ समूह बनाई सहसंयोजकहरू तोकिएका छन् ।
जारी महाधिवेशनको बन्दसत्रमा स्थायी समिति सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदा प्रस्तुत गर्नुभएको छ । अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेपछि नेता गुरुङले विधान मस्यौदा प्रस्तुत गर्नुभएको हो । उहाँले प्रस्तुत गर्नुभएको विधानको मस्यौदाअनुसार अब माओवादी केन्द्रको केन्द्रीय समिति २९९ सदस्यीय हुनेछ ।
यस्तै एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्षसहित १५ सदस्यीय पदाधिकारीको व्यवस्था गरिएको छ ।