भावना सुबेदी
घोराही, १२ पुस । घोराही कारागारबाट कैदी भागेको प्रकरणमा जेलर, सुरक्षा प्रमुख प्रहरी सहायक निरीक्षक र हवल्दार विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
कारागार प्रशासन र सुरक्षा संयन्त्रको चमर लापरवाही देखिएको भन्दै जेलर युवराज परियार, कारागार सुरक्षा प्रमुख प्रहरी सहायक निरीक्षक रुद्र सेन ठकुरी र प्रहरी हवल्दार गणेशकुमार थारूका नाममा पक्राउ पुर्जी जारी भएको प्रहरी स्रोतले जनाएको छ ।
कर्तव्य ज्यान मुुद्धामा जन्मकैदको सजाय काटिरहेका राजपुर गाउँपालिका ३ घर भएका २९ बर्षिया यमराज परियारलाई उपचारका लागि अस्पताल लैजाने भनी मिलेमतोमा भगाइएको प्रहरीको निष्कर्ष छ ।
गत बुधबार कारागारका नाइके परियारलाई उपचारका लागि प्रहरी जवान धनबहादुर चौधरीले लु ३४ प ४१० नम्बरको मोटरसाइकलमा लिएर गएका थिए । तर उनीहरू अस्पताल नगई २ जना महिलालाई लिएर होटलमा पुगेका थिए ।
होटलबाटै कैदी परियार भागेका हुन् । प्रहरीले प्रहरी जवान चौधरी सहित ती दुई जना महिला, कैदी परियारलाई भेटेका अन्य दुई युवा र होटल सञ्चालकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । कारागारका कार्यालय सहयोगीलाई भने बोलाएको बेला उपस्थित हुने सर्तमा छोडिएको छ ।