चेतना अनलाइन
घोराही, २४ मंसिर । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० ले सबै प्रदेशहरूमा पहिलो पटक प्रदेश सम्मेलन गर्दै छ ।
मंसिर २५ र २६ गते ७ ओटा भौगोलिक प्रदेश समिति र ४ ओटा गैर भौगोलिक समितिको एकै पटक सम्मेलन गर्दै छ । सम्मेलनको उद्घाटन पार्टीका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले गर्ने कार्यक्रम रहेको छ । संघीयता कार्यान्वयन नहुँदै माओवादीले आफ्नो पार्टी कमिटीलाई विभिन्न प्रदेश मानेर प्रादेशिक संरचनामा काम गरिसकेको छ । अहिले भने संवैधानिक रुपमा प्रदेश संरचना बनिसकेकाले माओवादी त्यहीँ संरचना अन्तर्गत रहेर कमिटी निर्माण गर्दै छ ।
युद्धकाल देखि शान्तिप्रक्रियाका यो १५ वर्षमा माओवादीका विभिन्न सांगठनिक संरचनाको अभ्यास गरिसकेको छ । यस पटक माओवादीले विधान मै एक व्यक्ति एक समिति ९पद० का मापदण्ड बनाएको छ । अब कुनै पनि व्यक्ति दुई ओटा कमिटीमा बस्न पाउने छैनन् ।
अहिले प्रदेशका पदाधिकारीहरू नै केन्द्रीय समितिमा रहेका छन् । अब उनीहरूले कि त केन्द्रीय कमिटी छाड्नुपर्ने छ कि त प्रदेश कमिटी छाड्नुपर्ने छ । विधान मापदण्ड अनुसार अहिले भएका सबै जसो पदाधिकारीहरू केन्द्रीय समितिमा रुचि देखाएका छन् । प्रदेश समितिको पदाधिकारीमा भने अहिलेका बहालवाला केन्द्रीय सदस्यहरू आउने देखिन्छ ।
अहिले प्रदेश अध्यक्षका दाङका हेमराज शर्मा ‘डायमन्ड’, रोल्पाका दीपेन्द्र पुन ‘सिजल’, पूर्वी रुकुमका तेजबहादुर वली लगायतको चर्चा रहेको छ । यी मध्येबाट अध्यक्ष र सचिव हुन सक्ने स्रोतले जनाएको छ ।
माओवादीको विधानमा प्रदेश समिति कार्यकारी भएकाले प्रदेश पदाधिकारीमा केन्द्रीय सदस्यहरूको नै आकर्षण देखिएको छ । केन्द्रीय सदस्य बन्दा एउटै जिल्लामा सीमित हुनुपर्ने बाध्यता देखिएको छ भने । प्रदेश अध्यक्ष वा सचिव बन्दा १२ ओटै जिल्लामा राजनीतिक प्रभाव पार्न सकिने भएकाले केन्द्रीय सदस्यहरू नै प्रदेश अध्यक्ष वा पदाधिकारीमा आकांक्षी देखिएका हुन् ।
माओवादी केन्द्रका प्रदेश सचिव जगप्रसाद शर्मा ‘अपार’ ले आफूहरूले सर्वसम्मत नेतृत्व चयनको प्रयास थालनी गरेको बताउनुभयो । ‘हामी सकभर सर्वसम्मत नेतृत्व चयन गर्छौ, यदि सहमति हुन नसकेको खण्डमा जनवादको अभ्यास हुन्छ,’ उहाँले भन्नुभयो, ‘प्रदेश समितिमा को आउने भन्ने कुरा अहिले भन्न सकिदैन ।’
नेताहरूको इच्छा अनुसार अहिले केन्द्रीय समितिमा रहेका वा प्रदेश समितिमै रहेका नेताहरू उम्मेदवार बन्न सक्ने शर्माले बताउनुभयो ।