चेतना अनलाइन
घोराही, ५ चैत । जिल्ला प्रहरी कार्यालय दाङको आयोजना एवं गंगा माध्यमिक विद्यालय, रामपुरको सहकार्यमा विद्यार्थीहरूका लागि साइबर सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम बिहीबार सम्पन्न गरिएको छ । पछिल्लो समय इन्टरनेट तथा सामाजिक सञ्जालको प्रयोग तीव्र रूपमा बढ्दै गएको सन्दर्भमा विद्यार्थीहरूलाई सम्भावित जोखिमबारे सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
गंगा माध्यमिक विद्यालय, रामपुरकी प्रधानाध्यापक गंगा गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई डिजिटल प्रविधिको सुरक्षित प्रयोग, सामाजिक सञ्जालमा हुने दुरुपयोग तथा साइबर अपराधबाट बच्ने उपायबारे जानकारी गराइएको थियो ।
कार्यक्रममा प्रमुख वक्ताको रूपमा रहेका प्रहरी नायब निरीक्षक कुलबहादुर बिकले साइबर सुरक्षाको महत्वबारे विस्तृत जानकारी गराउँदै आजको डिजिटल युगमा सचेतना अत्यन्त आवश्यक भएको बताउनुभयो । उहाँले इन्टरनेट प्रयोग गर्दा व्यक्तिगत विवरण जस्तै पासवर्ड, बैंकिङ जानकारी तथा निजी तस्बिरहरू सुरक्षित राख्नुपर्नेमा जोड दिनुभयो । “सामाजिक सञ्जालमा देखिएको हरेक सामग्री सत्य हुँदैन । अनावश्यक लिंक खोल्दा वा अपरिचित व्यक्तिसँग संवाद गर्दा ठगी, हैकिङ तथा ब्ल्याकमेलिङ जस्ता समस्यामा पर्न सकिन्छ,” उहाँले भन्नुभयो ।
प्रहरी नायब निरीक्षक बिकले विद्यार्थीहरूलाई सामाजिक सञ्जालको प्रयोग गर्दा जिम्मेवार बन्न आग्रह गर्दै गलत सूचना नफैलाउन र साइबर अपराध देखिएमा तुरुन्त प्रहरीलाई जानकारी गराउन सुझाव दिनुभयो । साथै, अनलाइन कक्षाहरू तथा अध्ययनका क्रममा सुरक्षित प्लेटफर्म प्रयोग गर्नुपर्ने र समयको सदुपयोग गर्दै इन्टरनेटलाई ज्ञान आर्जनको माध्यम बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।
त्यसैगरी कार्यक्रममा प्रहरी सहायक निरीक्षक टेकबहादुर कुसारी, प्रहरी सहायक हवल्दार लीला कुमारी ओली तथा विनोद आचार्यले पनि आ-आफ्ना अनुभव प्रस्तुत गर्दै साइबर अपराधका विभिन्न स्वरूपहरू जस्तै फेसबुक ह्याकिङ, अनलाइन ठगी, नक्कली आईडी निर्माण तथा डिजिटल दुव्र्यवहारबारे जानकारी गराउनुभयो । उहाँहरूले विद्यार्थीहरूलाई सचेत रहन, अपरिचित व्यक्तिको फ्रेन्ड रिक्वेस्ट स्वीकार नगर्न तथा शंकास्पद गतिविधि देखिएमा तुरुन्त रिपोर्ट गर्न सुझाव दिनुभयो ।
कार्यक्रमकी अध्यक्ष गंगा गौतमले विद्यालय तहबाटै यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन हुनु सकारात्मक पक्ष भएको बताउँदै यसले विद्यार्थीहरूको डिजिटल व्यवहार सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रविधिको प्रयोग अपरिहार्य भए पनि त्यसको सही र सुरक्षित प्रयोगबारे जानकारी नहुँदा विभिन्न समस्या निम्तिन सक्ने बताउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । “विद्यार्थीहरू नै भोलिका जिम्मेवार नागरिक हुन् । उनीहरूलाई समयमै सही मार्गदर्शन दिन सकेमा समाजलाई सुरक्षित र सभ्य बनाउन सहयोग पुग्छ,” उहाँले भन्नुभयो ।
कार्यक्रमको अन्त्यमा सहभागी विद्यार्थीहरूले साइबर सुरक्षासम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए भने प्रहरी टोलीले ती प्रश्नहरूको उत्तर दिँदै व्यावहारिक सुझावहरू प्रदान गरेको थियो । यस प्रकारका कार्यक्रमले विद्यार्थीहरूमा डिजिटल सचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन् ।

