चेतना अनलाइन
घोराही, ५ चैत । दीपशिखा आवासीय माध्यमिक विद्यालयका विद्यार्थीहरूले आफ्नो सानो बचतमार्फत ठूलो सामाजिक सन्देश दिएका छन् । कक्षा तीन, चार, पाँच र नौ ‘ए’ का विद्यार्थीहरूले दैनिक खाजा खर्चबाट बचत गरेको रकम संकलन गरी घोराही उपमहानगरपालिका–७ शुक्रबारमा अवस्थित उत्तर बाहिनी त्रिवेणी धाममा सहयोग प्रदान गरेका हुन् ।
विद्यालयका अनुसार कक्षा ३, ४ र ५ का विद्यार्थीहरूबाट रु. ९,२७५ तथा कक्षा नौ ‘ए’ बाट रु. ७,४०० बराबरको आवश्यकीय सामग्री धामलाई हस्तान्तरण गरिएको हो । विद्यार्थीहरूले आफ्नो व्यक्तिगत आवश्यकता घटाएर सामाजिक हितका लागि योगदान पुर्याएको यो कार्यलाई विद्यालय प्रशासनले अत्यन्तै सराहनीय र प्रेरणादायी कदमका रूपमा व्याख्या गरेको छ ।
विद्यालय प्रशासनका अनुसार यस्तो गतिविधिले बालबालिकामा सानै उमेरदेखि नै परोपकार, सहकार्य र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । विद्यार्थीहरूमा “साना प्रयासले पनि ठूलो परिवर्तन सम्भव छ” भन्ने सकारात्मक सोचको विकास गराउने उद्देश्यले विद्यालयले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ ।
उक्त सहयोग कार्यक्रम विद्यालय सञ्चालन समितिका अध्यक्ष माधव प्रसाद शर्मा, शैक्षिक संयोजक सन्तोष कुमार रेग्मी, प्रा. वि. लेवल इन्चार्ज सोना कुँवर, शिक्षक मधु बुढाथोकी तथा सम्बन्धित कक्षाका प्रतिनिधि विद्यार्थीहरूको उपस्थितिमा सम्पन्न भएको थियो । कार्यक्रममा सहभागी सरोकारवालाहरूले विद्यार्थीहरूको सक्रियता र मानवीय भावना प्रति उच्च प्रशंसा व्यक्त गरेका थिए ।
उत्तर बाहिनी त्रिवेणी धाम व्यवस्थापन समितिले पनि विद्यार्थीहरूको यस सहयोगप्रति आभार व्यक्त गर्दै यस्तो कार्य समाजका लागि अनुकरणीय उदाहरण भएको जनाएको छ । समितिका प्रतिनिधिहरूले भविष्यमा पनि यस्ता सकारात्मक पहलहरूबाट समाजमा सहयोग, सहानुभूति र सहकार्यको संस्कार विस्तार हुने विश्वास व्यक्त गरेका छन् ।
यस किसिमका गतिविधिले विद्यालय शिक्षालाई केवल पुस्तकमा सीमित नराखी व्यवहारिक जीवनसँग जोड्ने काम गरेको देखिन्छ । विद्यार्थीहरूले सानैदेखि सामाजिक जिम्मेवारी बुझेको खण्डमा भविष्यमा जिम्मेवार नागरिक निर्माणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

