किसानको बारीमै पुगेर कृषि कर्म सिक्दै विद्यार्थी

चेतना अनलाइन

घोराही । कक्षाकोठाभित्र सीमित रहने परम्परागत सिकाइलाई व्यवहारसँग जोड्ने उद्देश्यका साथ गङ्गा माध्यमिक विद्यालय घोराही–२ रामपुरका विद्यार्थीहरू यतिबेला किसानको बारीमै पुगेर कृषि कर्म सिकिरहेका छन् । विद्यालयले सञ्चालन गरिरहेको इनस्योर परियोजना अन्तर्गत विद्यार्थीहरू घोराही उपमहानगरपालिका वडा नम्बर १३ तेरौटे स्थित नविनतम कृषि फर्ममा पुगेर प्रत्यक्ष अवलोकन तथा अध्ययन गरेका हुन् ।

उक्त अध्ययन भ्रमणका क्रममा विद्यार्थीहरूले कृषि उत्पादन, मजदुर व्यवस्थापन, बालीको हेरचाह, आधुनिक सिँचाइ प्रणाली तथा उत्पादनको बजारीकरणजस्ता विषयमा व्यवहारिक जानकारी हासिल गरेका थिए । कक्षामा पढिएका सैद्धान्तिक ज्ञानलाई व्यवहारमा कसरी लागू गर्ने भन्ने कुराको अनुभव यस भ्रमणले दिएको विद्यार्थीहरूको भनाइ छ ।

विद्यालयका प्रधानाध्यापक गंगा गौतमले विद्यालयले पढाइलाई जीवनोपयोगी बनाउने लक्ष्यसहित यस्ता कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थीहरूले किताबमा मात्र कृषि पढेर हुँदैन । वास्तविक खेतबारीमा पुगेर सिक्दा मात्र उनीहरूमा सीप विकास हुन्छ र भविष्यमा आत्मनिर्भर बन्ने आधार तयार हुन्छ ।” उहाँका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूमा श्रमप्रति सम्मान र उद्यमशीलताको भावना पनि विकास गर्छ ।

विद्यालयका माध्यमिक तह शिक्षक पाण्डव शर्माले अध्ययन भ्रमणले विद्यार्थीहरूको सोचमा सकारात्मक परिवर्तन ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थीहरूले आज प्रत्यक्ष रूपमा खेतीपातीको प्रक्रिया देखे । यसले उनीहरूलाई कृषि पेशाप्रति आकर्षित मात्र बनाएको छैन, बरु आधुनिक प्रविधिको प्रयोग गरेर कृषि व्यवसाय गर्न सकिन्छ भन्ने आत्मविश्वास पनि दिएको छ ।” उहाँले यस्ता गतिविधि निरन्तर सञ्चालन गरिने जानकारी दिनुभयो ।

करियर मार्गदर्शन प्रशिक्षक वसन्त सुवेदीले विद्यार्थीहरूलाई भविष्यको पेशा छनोट गर्न व्यवहारिक अनुभव आवश्यक हुने बताउनुभयो । उहाँले भन्नुभयो, “कृषि क्षेत्र नेपालका लागि ठूलो सम्भावना बोकेको क्षेत्र हो । विद्यार्थीहरूले सानैदेखि यसको महत्व बुझ्नुपर्छ । आजको अनुभवले उनीहरूलाई करियर रोजाइमा नयाँ दृष्टिकोण दिएको छ ।”

भ्रमणका क्रममा फर्मका सञ्चालक महेश पौडेलले आफ्ना अनुभवहरू विद्यार्थीहरूसँग साझा गर्नुभयो । उहाँले २०७७ सालदेखि सञ्चालन हुँदै आएको उक्त फर्ममा आधुनिक प्रविधिको प्रयोग गरेर व्यवसायिक खेती गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले ३२ बिघा क्षेत्रफलमा थोपा सिँचाइ प्रणाली प्रयोग गरेर गोलभेडा खेती गरिरहेका छौं । यसले पानीको बचत मात्र होइन, उत्पादनमा पनि वृद्धि गरेको छ ।”

पौडेलका अनुसार कृषि क्षेत्रमा सफल हुन मेहनत, योजना र प्रविधिको सही प्रयोग आवश्यक हुन्छ । उहाँले थप्नुभयो, “आजका युवाहरू विदेश जाने सोचभन्दा कृषि क्षेत्रमा लागे भने देशमै राम्रो आम्दानी गर्न सकिन्छ । हामीले पनि सुरुवातमा धेरै चुनौती भोग्यौं तर अहिले राम्रो परिणाम पाइरहेका छौं ।”

विद्यार्थीहरूले पनि यस भ्रमणबाट धेरै कुरा सिक्न पाएको बताएका छन् । उनीहरूका अनुसार खेतमा काम गर्ने तरिका, बाली व्यवस्थापन, मलखादको प्रयोग र बजारसम्म उत्पादन पुर्‍याउने प्रक्रिया प्रत्यक्ष देख्दा सिकाइ अझ प्रभावकारी बनेको छ ।

यस किसिमको अध्ययनले विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक सीप पनि प्रदान गर्ने भएकाले विद्यालय शिक्षालाई जीवनसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ । गङ्गा माध्यमिक विद्यालयको यो पहलले अन्य विद्यालयहरूलाई पनि यस्तै सिर्जनात्मक र व्यवहारमुखी शिक्षातर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *