नवचेतना शैक्षिक बोर्डिङ स्कुलको १७ औँ वार्षिक उत्सव तथा सरस्वती पूजन सम्पन्न

घोराही , दाङ । नवचेतना शैक्षिक बोर्डिङ स्कुल घोराही उपमहानगरपालिका–२ रामपुर , दाङको १७ औँ वार्षिक उत्सव तथा सरस्वती पूजन एवं अक्षरारम्भ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

 

विद्यालय सञ्चालक समितिका अध्यक्ष शशीराम गोराथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नं. १ का वडा अध्यक्ष राममणि पाण्डे प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो ।

कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष चित्रबहादुर चौधरी र प्याब्सन घोराहीका सचिव विमल भण्डारी विशिष्ट अतिथिका रूपमा सहभागी रहनुभएको थियो । कार्यक्रममा विद्यालयका शिक्षक बुद्धिप्रकाश धितालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

वार्षिक उत्सव कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले शुभकामना मन्तव्य दिनुभएको थियो । जसमा गङ्गा माध्यमिक विद्यालयका प्रधानाध्यापक गङ्गा गौतम , भोटे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मनोहरी चौधरी , समाजसेवी चुलुवा चौधरी , साना किसान सहकारी संस्था रामपुरका अध्यक्ष गुरुप्रसाद खनाल , निमोरिया खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष झविन्द्र कवर , विद्यालयकी विद्यार्थी आयुष्मा पाण्डे तथा दाङ भ्याली कलेजका प्राचार्य विष्णुप्रसाद बन्जाडेले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक माधवप्रसाद सुवेदीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनमार्फत विद्यालयले शैक्षिक गुणस्तर , अनुशासन र अतिरिक्त क्रियाकलापमा गरेको प्रगतिबारे जानकारी गराइएको थियो ।

यसै अवसरमा ६४ जना साना नानीबाबुहरूले विधिपूर्वक अक्षरारम्भ गरेका थिए । प्रमुख अतिथि पाण्डेले शिक्षा नै समाज परिवर्तनको मुख्य आधार भएको उल्लेख गर्दै गुणस्तरीय शिक्षा , नैतिक मूल्य र व्यवहारिक ज्ञानमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले विद्यालय , अभिभावक र समाजबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा विद्यार्थीहरूले आकर्षक नृत्य तथा नाटक प्रस्तुत गरेका थिए । साथै विद्यालयले विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्नुका साथै सहयोगी अभिभावकहरूलाई सम्मानसमेत गरेको थियो । प्रस्तुत सांस्कृतिक कार्यक्रमले उपस्थित अभिभावक तथा अतिथिहरूलाई मनोरञ्जन प्रदान गरेको खोपीराम पाण्डेले जानकारी दिनुभयो ।

समग्रमा शैक्षिक  धार्मिक तथा सांस्कृतिक महत्व बोकेको उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको विद्यालयले जनााएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *