दीपशिखा आवासीय माध्यमिक विद्यालयमा सरस्वती पूजा 

गाेपाल खत्री
दाङ । शिक्षालाई जीवनको मूल आधार मान्दै आएको घोराही उपमहानगरपालिका–१५ स्थित दीपशिखा आवासीय माध्यमिक विद्यालयमा ज्ञान, विद्या, कला र साहित्यकी देवी सरस्वतीको पूजा विशेष कार्यक्रमका साथ पण्डित महेश सुवेदीबाट पूजा आराधना गरेर भव्य रूपमा सम्पन्न भएको छ । शैक्षिक संस्थामा धार्मिक तथा सांस्कृतिक मूल्यको संरक्षण गर्दै विद्यार्थीहरूमा नैतिकता र संस्कार विकास गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमले विद्यालय परिसरलाई भक्तिमय वातावरणमा परिणत गरेको थियो ।

विद्यालयका प्रधानाध्यापक मनोज बुढाथोकीको अध्यक्षता तथा विद्यालयका संस्थापक अध्यक्ष एवम् अम्बिकेश्वरी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम औपचारिक रूपमा सुरु भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव प्रसाद शर्मा, विद्यालयका संस्थापक सदस्यहरू हरिप्रसाद गौतम, माधव न्यौपाने, पुरुषोत्तम खनाल, राम थापा लगायत सेयर सदस्यहरू विद्यार्थी, शिक्षक, विद्यालय कर्मचारी, अभिभावक तथा स्थानीय व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रमको सुरुवात सरस्वती माताको विधिपूर्वक पूजा–आराधनाबाट गरिएको थियो । विद्यार्थीहरूले श्रद्धापूर्वक पूजा गर्दै विद्या, विवेक र सद्बुद्धिको कामना गरेका थिए । विद्यालय परिसरमा मन्त्रोच्चारण, दीप प्रज्वलन र भजन–कीर्तनले धार्मिक वातावरण सिर्जना गरेको थियो । यस अवसरमा विद्यार्थीहरूले सरस्वती वन्दना, सांस्कृतिक नृत्य, गीत तथा विभिन्न सृजनात्मक प्रस्तुति प्रस्तुत गर्दै कार्यक्रमलाई थप अर्थपूर्ण बनाएका थिए ।

प्रमुख अतिथि नारायण प्रसाद अधिकारीले सरस्वती पूजाको ऐतिहासिक, धार्मिक तथा शैक्षिक महत्वबारे चर्चा गर्दै शिक्षा नै समाज रूपान्तरणको सबैभन्दा सशक्त माध्यम भएको बताउनुभयो । उहाँले ज्ञान आर्जनसँगै संस्कार, अनुशासन र नैतिकताको विकास अपरिहार्य रहेको उल्लेख गर्दै विद्यालयले यस्ता कार्यक्रममार्फत विद्यार्थीहरूलाई सही मार्गतर्फ डो¥याइरहेको धारणा राख्नुभयो । उहाँले विद्यालयले शैक्षिक उपलब्धिसँगै सांस्कृतिक र धार्मिक गतिविधिलाई समेत महत्व दिएकोमा खुसी व्यक्त गर्नुभयो ।
उपस्थित अभिभावकहरूले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास, अनुशासन र संस्कृतिप्रतिको सम्मान बढाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले आधुनिक शिक्षासँगै परम्परागत मूल्यको संरक्षणमा विद्यालयले खेलेको भूमिकाको प्रशंसा समेत गर्नुभयो ।

कार्यक्रमको समापन गर्दै सभापतिका तर्फबाट प्रधानाध्यापक मनोज बुढाथोकीले मन्तव्य व्यक्त गर्दै सरस्वती पूजा जस्ता कार्यक्रमले विद्यार्थीहरूमा शैक्षिक चेतना, नैतिक आचरण र सांस्कृतिक पहिचानको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले विद्यालय परिवार यस्ता रचनात्मक तथा संस्कारमूलक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *