चेतना अनलाइन
घोराही, ८ माघ । दाङको घोराही उपमहानगरपालिका–२ रामपुरस्थित गंगा माध्यमिक विद्यालय परिसरमा निर्माण गरिएको सरस्वती मन्दिर पूर्व विद्यार्थी समाजले औपचारिक रूपमा विद्यालयलाई हस्तान्तरण गरेको छ । एक विशेष कार्यक्रमका बीच समाजका संयोजक भोलानाथ अधिकारीसहित पदाधिकारीहरूले विद्यालयका प्रधानाध्यापक गंगा गौतमलाई मन्दिरको चाबी हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै पूर्व विद्यार्थी समाजका संयोजक भोलानाथ अधिकारीले शिक्षा नै समाज रूपान्तरणको मूल आधार भएको उल्लेख गर्नुभयो । उहाँले गंगा माध्यमिक विद्यालयले उत्पादन गरेका हजारौँ विद्यार्थी देश तथा विदेशमा विभिन्न क्षेत्रमा क्रियाशील रहेको स्मरण गर्दै ज्ञान, संस्कार र संस्कृतिको संरक्षणका लागि सरस्वती मन्दिर स्थापना गरिएको बताउनुभयो । मन्दिरले विद्यार्थीहरूमा अध्ययनप्रतिको श्रद्धा, अनुशासन र नैतिक मूल्यको विकास गर्न सहयोग पुग्ने उहाँको विश्वास थियो ।
विद्यालयका प्रधानाध्यापक गंगा गौतमले पूर्व विद्यार्थी समाजप्रति आभार व्यक्त गर्नुभयो । उहाँले विद्यालयको शैक्षिक वातावरण सुदृढ बनाउन पूर्व विद्यार्थीहरूको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताउनुभयो । मन्दिर हस्तान्तरणसँगै विद्यालयमा शैक्षिक तथा सांस्कृतिक गतिविधि थप व्यवस्थित हुने र विद्यार्थीहरूलाई सकारात्मक ऊर्जा प्राप्त हुने उहाँको भनाइ थियो ।
पूर्व विद्यार्थी समाजका सहसंयोजक माधवप्रसाद सुवेदीले आफूहरूले अध्ययन गरेको विद्यालयमा केही योगदान गर्न पाउनु गौरवको विषय भएको बताउनुभयो । उहाँले शिक्षा र संस्कृतिको संरक्षणमा पूर्व विद्यार्थीहरूको निरन्तर सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो । समाजले आगामी दिनमा पनि विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।
त्यसैगरी समाजका सचिव गोपाल पोख्रेलले समाज गठनको उद्देश्य र हालसम्म गरिएका गतिविधिबारे जानकारी गराउनुभयो । उहाँले सरस्वती मन्दिर निर्माण पूर्व विद्यार्थीहरूको सामूहिक प्रयास र सहयोगबाट सम्भव भएको बताउनुभयो । शिक्षा क्षेत्रको विकासमा लगानी गर्नु नै दीर्घकालीन सामाजिक सेवा भएको उहाँको धारणा थियो ।
कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, पूर्व विद्यार्थीहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले पूर्व विद्यार्थी समाजको पहलको प्रशंसा गर्दै यस्तो सहयोगले विद्यालयप्रति अपनत्व र जिम्मेवारीको भावना बढाउने बताएका थिए ।
सरस्वती मन्दिर हस्तान्तरण कार्यक्रमले गंगा माध्यमिक विद्यालय र पूर्व विद्यार्थी समाजबीचको सम्बन्धलाई अझ सुदृढ बनाएको छ । यस किसिमका सहयोगात्मक कार्यले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि हुनुका साथै स्थानीय समुदायमा शिक्षाप्रतिको सकारात्मक सोच विकास हुने अपेक्षा गरिएको छ ।

