चेतना अनलाइन
घोराही, ५ माघ । दीपशिखा आवासीय माध्यमिक विद्यालय घोराहीले आफ्नो ३३ औँ वार्षिक उत्सव समारोहको अवसरमा विविध कार्यक्रमसहित साताव्यापी गतिविधि सञ्चालन गरिरहेको छ । विद्यालयले शैक्षिक उपलब्धि, खेलकुद, अतिरिक्त क्रियाकलाप तथा सामाजिक उत्तरदायित्वलाई एकसाथ जोड्ने उद्देश्यले वार्षिक उत्सवलाई विशेष रूपमा आयोजना गरेको विद्यालय सञ्चालक समिति अध्यक्ष माधवप्रसाद शर्माले दिनुभयाे ।
यस अवसरमा विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्ने तथा समुदायसँग विद्यालयको सम्बन्ध थप मजबुत बनाउने लक्ष्य लिइएको विद्यालयले जनाएको छ ।
शर्माका अनुसार वार्षिक उत्सवको पूर्वसन्ध्यामा विद्यालयले एक हप्तासम्म विभिन्न खेलकुद तथा अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । यस्ता कार्यक्रमले विद्यार्थीहरूमा अनुशासन, सहकार्य, प्रतिस्पर्धात्मक भावना र नेतृत्व क्षमताको विकासमा महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ ।
साताव्यापी खेलकुद कार्यक्रमअन्तर्गत बास्केटबल, क्रिकेट, टेबलटेनिस, फुटबल, भलिबल लगायतका विभिन्न खेलहरू सञ्चालन भइरहेका छन् । कक्षा अनुसार तथा समूहगत रूपमा आयोजना गरिएका खेलहरूमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता देखिएको छ । खेलकुदमार्फत शारीरिक विकाससँगै मानसिक स्फूर्ति बढ्ने र स्वस्थ जीवनशैलीप्रति विद्यार्थीहरू आकर्षित हुने विश्वास विद्यालयले लिएको छ ।
खेलकुदसँगै अतिरिक्त क्रियाकलाप अन्तर्गत हाजिरीजवाफ प्रतियोगिता, वादविवाद प्रतियोगिता तथा वक्तृत्वकला प्रतियोगिता पनि सञ्चालन भइरहेका छन् । यी प्रतियोगितामार्फत विद्यार्थीहरूको बौद्धिक क्षमता, अभिव्यक्ति कला र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्य राखिएको विद्यालयले जनाएको छ । प्रतियोगिताहरूमा विद्यार्थीहरूले समसामयिक विषयमा आफ्ना विचार प्रस्तुत गर्दै सिर्जनात्मकता र तार्किक क्षमताको प्रदर्शन गरिरहेका छन् ।
कार्यक्रम तालिका अनुसार माघ ८ गते विभिन्न खेलकुद तथा अतिरिक्त क्रियाकलापमा विजयी हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण कार्यक्रम तथा रक्तदान आयोजना गरिनेछ । त्यसैगरी माघ ९ गते सरस्वती पूजा कार्यक्रम सञ्चालन गरिनेछ । ज्ञानकी देवी सरस्वतीको पूजा अर्चनासँगै सामाजिक सेवाको भावनालाई जोड्दै रक्तदान कार्यक्रम राखिएको विद्यालयको भनाइ छ ।
माघ १० गते घोराही उपमहानगरपालिका वडा नम्बर १० स्थित मानव सेवा आश्रमलाई सहयोग गर्ने कार्यक्रम पनि तय गरिएको छ । यस कार्यक्रममार्फत विद्यालयले विद्यार्थीहरूमा मानवता, करुणा र सामाजिक उत्तरदायित्वको भावना विकास गराउने लक्ष्य लिएको छ । समाजका असहाय तथा सेवाको खाँचोमा परेका व्यक्तिहरूप्रति सहयोग गर्ने संस्कार विद्यार्थी जीवनदेखि नै बसाल्नुपर्ने विद्यालयको धारणा छ ।
विद्यालयका प्रधानाध्यापक मनोज बुढाथोकीले पनि वार्षिक उत्सवका कार्यक्रमबारे जानकारी दिँदै यसले विद्यालय परिवार, अभिभावक र समुदायबीचको सम्बन्ध अझ प्रगाढ बनाउने बताउनुभएको छ । उहाँका अनुसार शैक्षिक गतिविधिसँगै सह–पाठ्यक्रम गतिविधिलाई समान महत्व दिँदा मात्र विद्यार्थीहरूको सर्वाङ्गीण विकास सम्भव हुन्छ ।
३३ औँ वार्षिक उत्सवको मुख्य कार्यक्रम माघ ११ गते विद्यालय प्राङ्गणमा आयोजना गरिनेछ । उक्त कार्यक्रममा अभिभावक, विद्यार्थी तथा शिक्षा सम्बन्धी सरोकारवाला व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहने विद्यालयले जनाएको छ । भव्य रूपमा आयोजना हुने कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति, शैक्षिक उपलब्धिको समीक्षा तथा सम्मान कार्यक्रमसमेत समावेश गरिनेछ । विद्यालयले सबैलाई कार्यक्रममा सहभागी भई उत्सवको गरिमा बढाउन आग्रह गरेको छ ।
