लुम्बिनी प्रदेशकी ऊर्जा मन्त्री चौधरीद्वारा दाङमा सिँचाइ योजनाको स्थलगत अनुगमन

नवराज शर्मा

घोराही, २६ पुस । लुम्बिनी प्रदेश सरकारकी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सीता शर्मा चौधरीले शनिबार दाङ जिल्लामा प्रदेश सरकारद्वारा सञ्चालित विभिन्न सिँचाइ योजनाहरूको स्थलगत अनुगमन गर्नुभएको छ ।
मन्त्री चौधरीले घोराही उपमहानगरपालिका–१० सहितका विभिन्न स्थानमा मन्त्रालयअन्तर्गत सञ्चालित सिँचाइ योजनाहरूको अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा उहाँले स्थानीयवासीहरूसँग भेटघाट गरी प्रत्यक्ष छलफल गर्नुभयो ।

स्थानीयसँगको अन्तरक्रियामा मन्त्री चौधरीले सरकारले लगानी गरेका योजनाहरूमा स्थानीय तहको चासो र सक्रिय सहभागिता अनिवार्य रहेको बताउनुभयो । उहाँले ग्रामीण क्षेत्रमा जलस्रोत तथा सिँचाइ योजनालाई प्राथमिकतामा राखेर काम भइरहेको उल्लेख गर्दै जनसहभागिताविना कुनै पनि योजना प्रभावकारी तथा दिगो नहुने स्पष्ट पार्नुभयो ।
अनुगमनका क्रममा मन्त्री चौधरीले सरोकारवाला निकाय तथा स्थानीयवासीहरूसँग योजनाको हालको प्रगति, कार्यान्वयनमा देखिएका समस्या र आगामी कार्ययोजनाबारे विस्तृत छलफल गर्नुभएको थियो ।

स्थानीयवासी बुद्धिराम चौधरीका अनुसार उत्तर अमराइ क्षेत्रमा पहिले पक्की बाँध र पक्की नहर नहुँदा सिँचाइमा ठूलो समस्या थियो । अहिले मतहुँ बाँध निर्माण भएपछि खेतीपाती गर्न निकै सहज भएको उहाँले बताउनुभयो ।
त्यसैगरी, सिँचाइको अभावमा किसानले भोग्नुपरेको कठिनाइलाई प्रदेश सरकारले महसुस गर्दै विभिन्न स्थानमा डिप ट्युवेल जडान गरेपछि धैरेनिका किसानहरूको जीवनयापन सहज बनेको स्थानीयहरूले बताएका छन् ।

मन्त्रीको सचिवालयका अनुसार सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सबै जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयहरूलाई जनहितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिइएको छ । मन्त्री चौधरीले प्राप्त योजनाहरू समयमै सम्पन्न गर्न, गुणस्तरमा विशेष ध्यान दिन तथा सबै समुदाय र क्षेत्रलाई समेट्ने गरी काम गर्न निर्देशन दिनुभएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *