भूमि अधिकार संगठनले गर्यो एमाले महाधिवेशन प्रतिनिधिहरूलाई सम्मान

घोराही, १६ मंसिर । भूमि अधिकार तथा श्रमिक संगठन नेपाल दाङको सचिवालय बैठक आज घोराहीमा सम्पन्न भएको छ । जिल्लाअध्यक्ष वसन्त नेपालको अध्यक्षतामा आयोजित बैठकमा संगठनकी केन्द्रिय उपाध्यक्ष लिला विक प्रमुख अतिथि रहनुभएको थियो । बैठकमा नेकपा (एमाले) दाङका उपाध्यक्ष तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख मनोहर बुढाथोकी प्रमुख वक्ताको रूपमा सहभागिता जनाउनुभएको थियो ।

बैठकमा जिल्ला स्तरमा सञ्चालन भइरहेको भूमि तथा श्रमिक अधिकारसम्बन्धी गतिविधि, प्राप्त उपलब्धि तथा आगामी कार्ययोजना विषयक विस्तृत समीक्षा गरिएको थियो । बैठकले हालै चयन भएका नेकपा (एमाले) महाधिवेशन  प्रतिनिधिहरूलाई विशेष सम्मानसमेत प्रदान गरेको छ । प्रतिनिधिहरूलाई दोसल्ला र सम्मानपत्रद्वारा अभिनन्दन गरिएको थियो ।

प्रमुख अतिथि लिला विकले भूमि अधिकार आन्दोलनलाई सामाजिक न्यायसँग प्रत्यक्ष रूपमा जोडिएको विषयका रूपमा प्रस्तुत गर्दै भूमिहीन तथा श्रमिक वर्गको जीवनमान सुधारका लागि संगठनले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरिन् । उनले आन्दोलन केवल जग्गा प्राप्तिको अभियान मात्र नभई समानता, सम्मान र सुरक्षित जीवनको सुनिश्चिततासँग गाँसिएको परिवर्तनकारी प्रयास भएको उल्लेख गरिन् । विकले स्थानीय तहदेखि केन्द्रसम्म संगठनका मागहरूलाई प्रभावकारी रूपमा उठाइरहनुपर्नेमा जोड दिँदै सबै सदस्यहरूलाई जनस्तरसँग नजिक भएर काम गर्न आग्रह गरिन् ।

प्रमुख वक्ता मनोहर बुढाथोकीले भूमि अधिकार आन्दोलनलाई ऐतिहासिक र जनजीवनसँग नजिक रहेको आन्दोलनका रूपमा व्याख्या गर्दै, उत्पादनका साधनमा जनताको पहुँच बिना समृद्ध समाज निर्माण सम्भव नहुने बताए ।  एमाले सदैव श्रमिक तथा भूमिहीन वर्गको हकहितमा उभिएको दाबी गर्दै उनले संगठनका जायजा र मागहरूलाई पार्टीमार्फत सकारात्मक रूपमा अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरे । बुढाथोकीले जनताका समस्या प्रत्यक्ष सुन्ने र समाधानका बाटो खोज्दै निरन्तर सक्रिय रहन कार्यकर्ताहरूलाई प्रेरित गरे ।

जिल्लाअध्यक्ष वसन्त नेपालले दाङमा भूमि अधिकार अभियानले हासिल गरेको प्रगति तथा जनसमर्थनबारे प्रकाश पार्दै महाधिवेशन प्रतिनिधिहरूको भूमिकाको प्रशंसा गरे । उनले सामूहिक प्रयास र निरन्तर सक्रियतामार्फत मात्र भूमिहीन तथा श्रमिक समुदायका आधारभूत अधिकार सुनिश्चित गर्न सकिने उल्लेख गर्दै संगठनलाई थप उचाइमा पुर्‍याउने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा संगठनका केन्द्रीय सदस्य रचना कुमारले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *