घोराही, १ असोज – नेकपा (एमाले), दाङले असोज ३ गते संविधान दिवसको अवसरमा जिल्लाका सबै पालिकामा कार्यक्रम गर्ने भएको छ ।
संविधानको रक्षा गरौं भन्ने मूल नाराका साथ एमालेले जिल्लाका सबै पालिकामा संविधान दिवसको अवसरमा भव्य कार्यक्रम गर्ने तयारी थालेको पार्टी सचिव श्याम डाँगीले जानकारी दिनुभयो । कार्यक्रम सफल बनाउनका लागि एमालेले केन्द्रीय सदस्यहरू, प्रदेश पदाधिकारी तथा सदस्यहरू, जिल्ला पदाधिकारी र जिल्ला सदस्यहरूलाई फिल्डमा खटाउने निर्णय गरेको उहाँले बताउनुभयो ।
जसअनुसार घोराही उपमहानगरपालिकामा पार्टी पोलिटब्युरो सदस्य एवं दाङ जिल्ला इन्चार्ज नरूलाल चौधरी र जिल्ला उपाध्यक्ष मनोहर बुढाथोकीलाई खटाउने निर्णय गरिएको छ । तुलसीपुर उपमहानगरपालिकामा पार्टी केन्द्रीय सदस्य भागवत विश्वासी र प्रदेश कमिटी सदस्य रामजी चौधरी, लमही नगरपालिकामा केन्द्रीय सदस्य सिता न्यौपाने र नेता कुलबहादुर केसी, राप्ती गाउँपालिकामा केन्द्रीय सदस्य जीवन गौतम र जिल्ला अध्यक्ष शिवकुमार आचार्य, गढवा गाउँपालिकामा लुम्बिनी प्रदेश सचिव लक्ष्मण आचार्य र प्रदेश सदस्य सुरामणि बेल्बासे तथा राजपुर गाउँपालिकामा केन्द्रीय सदस्य कुमार दसौदी र नेता रामप्रसाद गैरेलाई खटाउने निर्णय गरिएको सचिव डाँगीले जानकारी दिनुभयो ।
त्यसैगरी, बबै गाउँपालिकामा केन्द्रीय सदस्य घनश्याम पाण्डे र नेता भुवनेश्वर पौडेल, शान्तिनगर गाउँपालिकामा सचिव श्याम डाँगी र नेता मेघराज भुसाल, तथा दङ्गीशरण गाउँपालिकामा प्रदेश कमिटी सचिवालय सदस्य हुकुम बस्नेत र नेता सीमा न्यौपानेलाई खटाउने निर्णय गरिएको छ । बंगलाचुलीको कार्यक्रम भने घोराहीसँग समाहित गरेर गर्ने निर्णय गरिएको एमाले दाङले जनाएको छ ।
एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीले २०६२/०६३ सालबाट प्राप्त गणतन्त्र र संविधानको रक्षा गर्नु अहिलेको प्रमुख कार्यभार भएको बताउँदै, यसका लागि सबै पालिकामा जागरण निर्माणका कार्यक्रम गर्न थालेको जानकारी दिनुभयो । “वर्तमान संविधान ९२ प्रतिशत जनताबाट अनुमोदित हो, यसको रक्षा गर्नु अहिलेको प्रमुख दायित्व हो,” उहाँले भन्नुभयो । “हाल गणतन्त्र र संविधानमाथि मिचाह प्रवृत्ति देखिएको छ, त्यसलाई रोक्नु अहिले हाम्रो प्रमुख जिम्मेवारी हो ।”
एमाले दाङका अध्यक्ष शिवकुमार आचार्यले लामो संघर्षपछि प्राप्त संविधानको रक्षा गर्नु अहिलेको प्रमुख दायित्व भएको बताउनुभयो । उहाँले सबै पालिकाका कार्यक्रममा सक्रिय सहभागिता जनाउन त्यहाँका नेता, कार्यकर्ता र आम जनसमुदायलाई आग्रह गर्नुभयो । “म जिल्लाभरका सबै नेता र कार्यकर्ता साथीहरूलाई उच्च मनोबलका साथ पार्टी निर्माणको अभियानमा जुट्न हार्दिक अनुरोध गर्दछु,” उहाँले भन्नुभयो, “पार्टी अब हरेक टोल–टोलमा जनता समक्ष पुग्ने तयारीमा छ ।”
नेकपा (एमाले)का पोलिटब्युरो सदस्य एवं दाङ जिल्ला इन्चार्ज नरूलाल चौधरीले जनताको लामो संघर्षपछि प्राप्त संविधानमा कतै पनि हस्तक्षेप हुन नदिनका लागि एमालेले गाउँ–गाउँमा पुगेर जनता समक्ष कुरा राख्ने बताउनुभयो । “वर्तमान संविधान जनपक्षीय दृष्टिले उत्कृष्ट संविधान हो,” उहाँले भन्नुभयो । “यसलाई कसैले हस्तक्षेप गर्न खोज्छ भने हामी सह्य हुने छैनौं ।”
यसैबीच नेकपा (एमाले)का जिल्ला सचिवालय सदस्य एवं निर्वाचन विभाग प्रमुख विवेक श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै संविधान दिवसको अवसरमा पार्टीले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन सबैलाई अपिल गर्नुभएको छ ।

									
									
									
									
									
									

						


										
										
										
										
										
										

