चेतना अनलाइन
घोराही, ६ भदौ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल आज दाङ आउनुहुने भएको छ ।
उहाँ भोलि हुने एमाले दाङ जिल्ला परिषद्को उद्घाटन गर्नका लागि दाङ आउन लाग्नुभएको हो । महासचिव पोखरेल आज बेलुकी दाङ आइपुग्ने उहाँका स्वकीय सचिव तथा बुद्धिजीवी संगठनका केन्द्रीय सदस्य सरोज रेग्मीले जानकारी दिनुभयो । उहाँ भोलि बेलुकी वा पर्सि काठमाडौं फर्किने कार्यक्रम तय भएको छ ।
जिल्ला परिषद् पूर्वसन्ध्यामा आज जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू, प्रदेश पदाधिकारी तथा सदस्यहरू, केन्द्रीय सल्लाहकार, केन्द्रीय विभागका सदस्यहरू र जिल्ला पदाधिकारीहरू सहित जिल्ला इन्चार्जसँग संयुक्त बैठक आयोजना गरिएको अध्यक्ष शिवकुमार आचार्यले जानकारी दिनुभयो । हिजो एमाले दाङकाे जिल्ला कमिटी बैठक बसेकाे थियो ।
अध्यक्ष आचार्यका अनुसार जिल्ला परिषद्मा गत जिल्ला अधिवेशनका प्रतिनिधिहरू नै सहभागी हुनेछन् ।
परिषद्ले जिल्ला कमिटीले अहिलेसम्म गरेका कामहरूको समीक्षा गर्नुका साथै आगामी कार्ययोजना तय गर्ने नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज नरुलाल चौधरीले बताउनुभयो । परिषद् सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि जिल्ला कमिटीका विभिन्न पदाधिकारी तथा सदस्यहरूलाई जिम्मेवारी तोकिएको समेत चौधरीले जानकारी दिनुभयो ।
नेकपा (एमाले) को केन्द्रीय विधान महाधिवेशन यही भदौ २० गतेदेखि २२ गतेसम्म हुने तय भएको छ ।








