पाल्पा-लुम्बिनी प्रदेश ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री सीता शर्मा चौधरीले धर्म र संस्कृति हाम्रो धरोहर भएकाले यसको जगेर्ना गर्नु सबैको दायित्व भएको बताउनुभएको छ । उहाँले धर्म र संस्कृतिले समाजलाई एक आपसमा बाँध्ने सूत्रको काम गर्ने भएकाले यसलाई संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
हरितालिका तीज पर्वको पूर्वसन्ध्यामा बिहीवार तिनाउ गाउँपालिका महिला समन्वय समितिले आयोजना गरेको गाउँपालिका स्तरीय तीज गीत प्रतियोगितामा सम्बोधन गर्दै मन्त्री चौधरीले तीजलाई केवल धार्मिक पर्वको रूपमा मात्र नभई समाज सुधार र परिवर्तन ल्याउने अवसरको रूपमा लिनुपर्ने धारणा राख्नुभयो । उहाँका अनुसार तीजलाई शालीन र मर्यादित तरिकाले मनाउनुपर्छ र बदलिँदो समयमा देखिएका गलत र विकृतिपूर्ण प्रथालाई अस्वीकार गर्नुपर्छ ।
“महिलामा लगानी, सभ्य र सृजनशील समाजको थालनी” भन्ने नारासहित सम्पन्न प्रतियोगितामा गाउँपालिकाका ६ वटा वडाबाट सहभागी समूहहरूले लैङ्गिक समानता, स्वास्थ्य, शिक्षा, कृषि, उद्यमशीलता र स्वदेशमै रोजगारी जस्ता विषयलाई आफ्नै मौलिक लोक भाका र नृत्यमार्फत प्रस्तुत गरेका थिए ।
मन्त्री चौधरीले अहिले पनि महिलाहरूलाई केवल चुला–चौका र घाँस–दाउरा सङ्कलनमै सीमित राख्न नहुने बताउनुभयो । उहाँका अनुसार आज महिलाहरू कला, खेलकुद, नेतृत्व, नीति निर्माण र विभिन्न व्यावसायिक क्षेत्रमा आफ्नो कौशल प्रस्तुत गर्दै अगाडि बढिरहेका छन् । उहाँले आफूले समेत राजनीति संगै व्यवसायलाई अघि बढाएको अनुभव बाँड्दै महिलाले अवसर पाएमा सबै क्षेत्रमा सक्षम भूमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

									
									
									
									
									
									

						


										
										
										
										
										
										

