दाङ, भदौ ४ । लुम्बिनी प्रदेश सरकार ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री सीता शर्मा चौधरीले परिवर्तनसँगै संस्कृतिलाई नभुल्न सबैलाई आग्रह गर्नुभएको छ ।
उहाँले नेपालजस्ता बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देशमा संस्कृति र परम्परा नै हाम्रो पहिचान हुने भएकाले त्यसको संरक्षणमा सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाली हिन्दू धर्मावलम्बी महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा घोराही उपमहानगरपालिका–११ नम्बर वडा कार्यालयले वडा कार्यालय परिसर पलासीपुरमा आयोजना गरेको तीज मिलन कार्यक्रममा प्रमुख अतिथि रहनुहुँदै मन्त्री चौधरीले संस्कृति र चाडपर्वलाई आत्मसात गर्दै समयअनुसार आधुनिकतासँग अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री चौधरीले हाम्रा नाचगान, लोकभाका र बाजाहरूको संरक्षण नगरे त्यसले हाम्रो मौलिकता गुम्ने खतरा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “तीज पर्व विशेषगरी पहिले नारीहरूले आफ्ना सुख दुःख गीतमार्फत सुनाउने पर्व थियो । उनीहरूले वर्ष दिनपछि साथी संगी भेट्दा आफ्नो खुसी गीतका भाकामा प्रस्तुत गर्थे । आज पनि यस पर्वले महिलाहरूबीच आपसी माया, सद्भाव र ऐक्यबद्धता बलियो बनाउने काम गरेको छ ।”
उहाँले चाडपर्वको नाममा विकृति र विसङ्गति फैलन नदिन सबैलाई सचेत रहन आह्वान गर्नुभयो । भाषा, संस्कृति, चालचलन र चाडपर्व हाम्रो अमूल्य धरोहर हुन्, जसलाई जोगाएर मात्र हामीले आफ्नो पहिचानलाई सुरक्षित राख्न सक्छौं । उहाँले भन्नुभयो, “हाम्रा चाडपर्वलाई सुरक्षित गर्दै आउने पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो जिम्मेवारी हो । यही जिम्मेवारी पूरा गर्न सके आगामी पुस्ताले गर्वपूर्वक आफ्ना परम्परागत संस्कृतिलाई निरन्तरता दिनेछन् ।”
मन्त्री चौधरीले लुम्बिनी प्रदेश सरकार आफ्ना संस्कृति, परम्परा र चाडपर्वको संरक्षणमा सधैं प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । उहाँले स्थानीय सरकारदेखि समुदायसम्म सबैको साझा प्रयासले मात्र मौलिक संस्कृति जोगिने विश्वास व्यक्त गर्नुभयो ।








