हाम्रा पर्वहरूलाई रचनात्मक र न्यायमूलक बनाउपर्छ : पोख्रेल

चेतना अनलाइन

घोराही, ४ भदौ । नेकपा (एमाले) सम्बद्ध अखिल नेपाल महिला सङ्घकी केन्द्रीय कार्यवाहक अध्यक्ष मेनका पोखरेलले नेपाली समाजका परम्परागत पर्वहरूलाई रचनात्मक, मौलिक र न्यायमूलक बनाउनुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।

बुधबार घोराहीमा अखिल नेपाल महिला सङ्घ, घोराही नगर कमिटीले आयोजना गरेको तीज मिलन समारोहलाई प्रमुख अतिथि भएर सम्बोधन गर्दै पोखरेलले पर्वहरूको महत्त्व समाजलाई एकताबद्ध बनाउन, सामाजिक सन्देश प्रवाह गर्न र महिलाको हक–अधिकारको पक्षमा जनचेतना अभिवृद्धि गर्न प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “चाडपर्व भनेको केवल रमाइलो गर्ने, खर्चिलो भव्य कार्यक्रम गर्ने मात्र समय होइन । यसलाई समाजमा सकारात्मक सन्देश फैलाउने अवसरका रूपमा लिनुपर्छ । हाम्रा चाडपर्वहरू जनताको जीवनसँग जोडिएका छन्, त्यसैले यसलाई समयसुहाउँदो र जनपक्षीय बनाउन जरुरी छ ।”

पोखरेलले विगतमा तीज पर्वको महत्त्वलाई स्मरण गर्दै २०४६ सालअघि भूमिगत अवस्थामा रहेर पनि महिला कार्यकर्ताहरूले तीजलाई गीतमार्फत जनताको मुक्तिको सवालसँग जोडेको उदाहरण दिनुभयो । उहाँले भन्नुभयो, “त्यो बेला हामीले गाएका तीजका गीतहरू केवल नाचगानका लागि थिएनन् । त्यसमा उत्पीडन, असमानता र अन्यायका विरुद्ध आवाज उठाइन्थ्यो । आज पनि त्यही चेतना आवश्यक छ । तीज केवल भड्किलो नृत्य वा बाह्य संस्कृतिको प्रदर्शन होइन, यो हाम्रो मौलिक अस्तित्व र महिलाको हकको आन्दोलनसँग पनि जोडिएको पर्व हो ।”

अहिलेका तीज गीतहरूमा मौलिकताको कमी र बाह्य संस्कृतिको प्रभाव बढ्दो देखिएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । उहाँका अनुसार गीतसंगीत समाजको दर्पण हो, त्यसैले तीजका गीतहरूले पनि महिलाको समस्या, उनीहरूको आकांक्षा र अधिकारको आवाजलाई उजागर गर्नुपर्छ । “हाम्रो संस्कृति मौलिक छ, यसलाई जोगाउने जिम्मेवारी हामी सबैको हो । तीजलाई मनोरञ्जनसँगै सामाजिक न्याय, समानता र सशक्तीकरणको पर्वका रूपमा विकास गर्न सकियो भने यसले समाजलाई सही दिशा दिन सक्छ,” पोखरेलले भन्नुभयो ।

उहाँले चाडपर्वलाई खर्चिलो र प्रतिस्पर्धात्मक देखाउने प्रवृत्तिलाई समेत आलोचना गर्नुभयो । हाल तीजलाई लिएर होटल, पार्टी प्यालेसमा हुने अत्यधिक खर्चिलो कार्यक्रमहरूले पर्वको वास्तविक भावना हराउँदै गएको उहाँको धारणा थियो । उहाँले जोड दिनुभयो, “हामी महिलाहरूले सिंगारपिचार, आडम्बर र खर्चिलो प्रतिस्पर्धा भन्दा पनि मौलिकता र आत्मसम्मानलाई प्राथमिकता दिनुपर्छ । पर्वलाई प्रदर्शनको होइन, चेतना र एकताको पर्व बनाउनुपर्छ ।”

समाजमा अझै पनि महिला हिंसा, छुवाछूत, असमानता र विभेद विद्यमान रहेको उल्लेख गर्दै पोखरेलले पर्वलाई यस्ता समस्याविरुद्ध जनजागरण फैलाउने माध्यमका रूपमा प्रयोग गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “आज पनि धेरै महिलाहरू घरभित्र हिंसा सहेर बसिरहेका छन् । धेरैलाई शिक्षाको अवसर छैन, निर्णय गर्ने अधिकार छैन । यस्तो अवस्थामा पर्वले महिलाको आवाजलाई बाहिर ल्याउने र उनीहरूलाई सशक्त बनाउने अवसर दिनुपर्छ ।”

कार्यक्रममा अन्य वक्ताहरूले पनि तीजलाई मौलिक रूपमा मनाउनुपर्ने, सामूहिकता र एकताको भावना प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरूले चाडपर्वलाई नयाँ पुस्तासम्म सही स्वरूपमा हस्तान्तरण गर्ने जिम्मेवारी सबैको साझा कर्तव्य भएको बताए ।

संगठनकी नगर अध्यक्ष माया रावत पाैडेलको अध्यक्षतामा सम्पन्न समारोहको सञ्चालन सचिव तुलसा केसीले गर्नुभएको थियो । कार्यक्रमको प्रारम्भमा दीपा बुढाले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विभिन्न वडाबाट आएका महिला सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रममा उपस्थित सहभागीहरूले तीज गीत गाएर, नाचगान प्रस्तुत गरेर वातावरणलाई उल्लासमय बनाएका थिए । तर गीतको विषयवस्तु र प्रस्तुतीकरणमा समेत मौलिकता र सामाजिक चेतनालाई जोड्ने प्रयास गरिएको देखिन्थ्यो । यसले पोखरेलले व्यक्त गर्नुभएको विचारलाई व्यवहारमै उतार्ने प्रयास भएको सहभागीहरूले बताएका छन् ।

समारोहमा पोखरेलले अन्तिममा जोड दिँदै भन्नुभयो, “हामीले पर्वलाई मनोरञ्जन मात्र हैन, समाज रुपान्तरणको माध्यम बनाउनुपर्छ । जसरी हाम्रा पुर्खाहरूले गीतमार्फत आवाज उठाए, हामीले पनि आजको सन्दर्भमा अन्याय, असमानता, हिंसा, बेरोजगारी र गरिबीविरुद्ध आवाज उठाउनुपर्छ । त्यसैगरी हाम्रा पर्वहरू अझ अर्थपूर्ण, न्यायपूर्ण र भविष्यमुखी बन्नेछन् ।”

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *