चेतना अनलाइन
दाङ । भुमि समस्या समाधान आयोग दाङको बैठक आज मङ्गलबार सम्पन्न भएको छ । आयोगका अध्यक्ष हुकुम बहादुर बस्नेतको अध्यक्षतामा बसेको बैठकले गढवा गाउँपालिका वडा नं. २ डाँडा टोलको पुर्जा तयार गरी वितरण गर्न बाँकी रहेको पुर्जा वि.सं. २०८२/०४/२३ गते शुक्रवार वितरण गर्ने निर्णय गरेको छ । बैठकले गढवा गाउँपालिका वडा नं. ३ बाघनाथ टोल (साविक गोबरडिया ६ ख, कित्ता नं. २५९) मा रहेका ५ जना भूमिहीन दलित तथा सुकुम्बासीहरूलाई जग्गा उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०८१ को अनुसूची १ बमोजिम प्रमाणीकरण भएको विवरण अनुसूची ५ को ढाँचामा सूचना प्रकाशन गर्ने निर्णय गरेको छ ।
त्यसैगरी राप्ती गाउँपालिकाबाट प्रमाणीकरण भएका वडा नं. १ (साविक लालमाटिया ३ त, कित्ता नं. १०४) पाखापानीका १ जना र वडा नं. ४ नयाँगाउँ (साविक लालमाटिया ८ ग, कित्ता नं. २२८) का ३ जना भूमिहीन दलित तथा सुकुम्बासीहरूलाई कार्यविधि २०८१ को अनुसूची १ बमोजिम प्रमाणीकरण भएको विवरण अनुसूची ५ को ढाँचामा सूचना प्रकाशन गर्ने निर्णय भएको छ । गढवा गाउँपालिका वडा नं. ३ बाघनाथ टोल (साविक गोबरडिया ६ ख) को प्लट रजिष्टरका ८ वटा, राप्ती गाउँपालिका वडा नं. १ (साविक लालमाटिया ३ त) को २ वटा र वडा नं. ४ (साविक लालमाटिया ८ ग) को ४ वटा अन्तिम कित्ता नम्बरहरू सुकुम्बासी समस्या समाधान आयोग जिल्ला समिति दाङको नाममा सुरक्षित गर्ने निर्णय भएको छ ।
बैठकले गढवा गाउँपालिका वडा नं. २ डाँडा टोल (साविक गोबरडिया २) का भूमिहीन दलित तथा सुकुम्बासीहरूको जग्गाधनी प्रमाण पुर्जा वितरण भएको मितिले ३० दिनभित्र भू-सूचना प्रणालीमा अद्यावधिक गर्न मालपोत कार्यालय लमहीमा पठाउने निर्णय गरेको छ । त्यस्तै, बबई गाउँपालिका वडा नं. ४ मा छुट भएका ३ जना भूमिहीन दलित तथा सुकुम्बासीहरूको विवरण बबई गाउँपालिकाको कार्यपालिकाबाट प्रमाणीकरण भई आएको आधारमा कार्यविधि २०८१ को अनुसूची १ बमोजिम ७ दिने सार्वजनिक सूचना प्रकाशन गर्ने निर्णय भएको छ ।
बैठकमा जिल्ला समन्वय समिति दाङका प्रमुख सावित्रा श्रेष्ठ, मालपोत कार्यालय दाङका प्रमुख कमल प्रसाद पौड्याल, जिल्ला प्रशासन दाङका प्रतिनिधि विजय गौतम, आयोगकी महिला सदस्य हिरादेवी पुन, सदस्य सचिव पुरन चौधरी, नापी कार्यालय लमहीका प्रमुख प्रदीप ज्ञवाली, मालपोत कार्यालय लमहीका प्रमुख राम प्रसाद खनाल, नापी कार्यालय तुलसीपुरका प्रमुख मोहन बन्जाडे, मालपोत कार्यालय तुलसीपुरका कार्यवाहक प्रमुख गंगाराम पोख्रेललगायतको उपस्थिति थियो ।
आयोगका अध्यक्ष बस्नेतले बैठकमा उठेका एजेन्डामाथि छलफल गर्दै दाङमा ८० हजार पुर्जा वितरण गर्ने योजनासहित काम अघि बढाउने बताए । उनले आगामी दुई वर्षभित्र सबै भूमिहीन दलित र सुकुम्बासीहरूको हातमा पुर्जा पुर्याउने गरी काम गर्न सम्बन्धित पदाधिकारी र कर्मचारीहरूलाई निर्देशन दिए । बैठकको सहजीकरण आयोगका सदस्य सचिव पुरन चौधरीले गरेका थिए ।

