नवराज शर्मा
भालुवाङ, १६ साउन । लुम्बिनी प्रदेशको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक सम्पन्न गरेको छ । मन्त्रालयमा आयोजित कार्यक्रममा १८ वटा कार्यालयले आफ्नो वार्षिक प्रगति प्रस्तुत गरेका थिए ।
कार्यक्रमको अध्यक्षता ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सीता शर्मा चौधरीले गर्नुभएको थियो भने प्रमुख अतिथि प्रदेश योजना आयोग सदस्य भुवन चौधरी रहनुभएको थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कविन्द्र नेपाल, आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव लालबहादुर गुरुङ, वरिष्ठ तथ्यांक अधिकृत मेघराज पौडेललगायतको उपस्थितिमा गोष्ठी सम्पन्न भएको थियो ।
प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार मन्त्रालयले ३ अर्ब २७ करोड ९ लाख बजेटमध्ये चालु र पुँजीगत गरी ७६ दशमलव ९८ प्रतिशत बजेट खर्च गरेको छ । पुँजीगत खर्च मात्रै ७७ दशमलव ५२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
कार्यक्रममा ११ वटा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, १ वटा सब-डिभिजन कार्यालय, २ वटा सिँचाइ व्यवस्थापन कार्यालय, ३ वटा भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय र १ वटा प्रदेश ऊर्जा कार्यालयले वार्षिक प्रगति समीक्षा प्रस्तुत गरेका थिए । डिभिजन कार्यालयका प्रमुखहरूले आफ्नो कार्यालयको समष्टिगत प्रगति विवरण, बेरुजुको अवस्था, काम गर्दा आएका समस्या र कार्यान्वयनमा गएका योजनाहरूको बारेमा समेत विस्तृत प्रस्तुत गरेका थिए ।
मन्त्री चौधरीले सबै कर्मचारी र टोलीको समन्वयले मन्त्रालयले उच्च पुँजीगत खर्च गर्न सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो उपलब्धि मेरो व्यक्तिगत प्रयास मात्र होइन, यहाँहरू सबैको साथ र सहयोगकै नतिजा हो । आउँदो आर्थिक वर्ष ८२/८३ मा पनि यही एकताको बलमा मन्त्रालयलाई प्रदेशका मन्त्रालयहरूमध्ये अब्बल बनाउनेछौँ ।”
उपस्थित अतिथिहरूले मन्त्रालयले गरेको कार्यको उच्च प्रशंसा गर्दै देखिएका समस्या समाधानका लागि व्यावहारिक सुझाव प्रस्तुत गरेका थिए । साथै मन्त्रालयलाई अझ सशक्त र प्रभावकारी बनाउन आवश्यक कदम चाल्नुपर्नेमा पनि जोड दिएका थिए ।








