चेतना अनलाइन
घोराही, १२ साउन । घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा न्यायीक समितिमा परेका उजुरीमध्ये ८८ प्रतिशत उजुरीहरूको मिलापत्र गर्न सफल भएको छ । समितिले सोमबार पत्रकार सम्मेलन आयोजना गरी वर्षभरिको समीक्षा गर्दै उपलब्धि सार्वजनिक गरेको हो ।
नगर उपप्रमुख एवं न्यायीक समितिकी संयोजक हुमाकुमारी डिसीका अनुसार आर्थिक वर्ष २०८१/८२ तथा अघिल्लो वर्ष गरी न्यायीक समितिमा कुल १सय ३५ वटा उजुरी परेका थिए । ती उजुरीमध्ये १ सय १९ वटामा पक्षहरूबीच छलफल गराई मिलापत्र गराउन सफल भएको समितिले जनाएको छ । बाँकी रहेका १६ वटा उजुरीहरू अझै छलफल प्रक्रियामा रहेको जानकारी संयोजक डिसीले दिनुभयो ।
पत्रकार सम्मेलनमा उपप्रमुख डिसीले न्यायीक समितिले उजुरी दर्ता, अध्ययन, छलफल, पक्षकारहरूलाई बुलुवा तथा मिलापत्र प्रक्रिया मार्फत वैकल्पिक न्याय प्रणालीको प्रवर्द्धन गर्दै आएको बताउनुभयो । उहाँले समितिले विवाद समाधानमा मध्यस्थकर्ताको भूमिका खेल्दै समाजमा मेलमिलाप, शान्ति र स्थायित्व कायम गर्न महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो । संयोजक डिसीले समितिमा आएको अधिकांश उजुरी परिवारिक झैझगडा, जग्गा सम्बन्धी विवाद, घरेलु हिंसा, सिमाना तथा घरगोठको विषयमा हुने गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा नगरप्रमुख नरुलाला चौधरीले न्यायीक समितिको कामप्रति सन्तोष व्यक्त गर्दै समितिको सक्रियता र प्रभावकारी कामप्रति धन्यवाद दिनुभयो । उहाँले मिलापत्रबाट विवाद समाधान गर्न सके स्थानीय सरकारप्रतिको जनविश्वास अझै मजबुत हुने धारणा राख्नुभयो । नगरप्रमुख चौधरीले स्थानीय तहमा न्यायको पहुँच सरल बनाउने उद्देश्यले काम गरिरहेको न्यायीक समितिलाई थप सशक्त बनाउने प्रतिवद्धता पनि जनाउनुभयो ।
उहाँले भन्नुभयो, “स्थानीय स्तरमा देखिने साना ठूला विवादलाई अदालतसम्म लैजानु पर्दैन भन्ने विश्वास दिलाउने माध्यम बनेको छ न्यायीक समिति । हामी यसलाई अझ प्रभावकारी बनाउने दिशामा काम गरिरहेका छौँ ।”
कार्यक्रमको सञ्चालन कानुनी मामिला शाखाका प्रमुख प्रतला गौतमले गर्नुभएको थियो । कार्यक्रममा सञ्चारकर्मीहरूलाई समितिको कार्य प्रणाली, उजुरी दर्ता प्रक्रिया, मिलापत्रका चरण र हालसम्मको सफलता बारे विस्तृत जानकारी दिइएको थियो ।








