चेतना अनलाइन
घोराही, १० साउन । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ लुम्बिनी प्रदेश कमिटीको पाँचौँ बैठक दाङको घोराहीस्थित नेकपा (एमाले) को पार्टी कार्यालयमा सम्पन्न भएको छ । महासङ्घका प्रदेश अध्यक्ष अमर सिजापतीको अध्यक्षतामा भएको बैठकमा केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज विवेक श्रेष्ठ प्रमुख अतिथि र नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी सचिव लक्ष्मण आचार्य विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
बैठकमा प्रमुख अतिथि श्रेष्ठले सङ्गठनको सुदृढीकरण र आदिवासी जनजातिको हकहितका लागि सबै तहमा सक्रियता बढाउनुपर्ने बताउनुभयो । “हाम्रो सङ्गठनले आदिवासी जनजातिको पहिचान, अधिकार र समृद्धिका लागि निरन्तर काम गर्नुपर्छ । असोज मसान्तसम्म सबै जिल्ला अधिवेशन सम्पन्न गरी सङ्गठनलाई थप बलियो बनाउनुपर्छ,” उहाँले भन्नुभयो ।
विशिष्ट अतिथि लक्ष्मण आचार्यले आदिवासी जनजातिको सशक्तीकरणका लागि एमालेको प्रतिबद्धता दोहोर्याउँदै सङ्गठनले सामाजिक एकता र समावेशी विकासमा जोड दिनुपर्ने बताउनुभयो । “हामी सबैको साझा उद्देश्य समृद्ध नेपाल हो । यसका लागि आदिवासी जनजातिको योगदान अतुलनीय छ,” उहाँले भन्नुभयो ।
महासंघका केन्द्रीय सदस्य भूवन चौधरीले स्थानीय तहदेखि प्रदेशसम्म सङ्गठनको प्रभावकारी सञ्जाल निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । “हाम्रा मुद्दाहरूलाई जनस्तरसम्म पुर्याउन सङ्गठित प्रयास जरुरी छ,” उहाँले भन्नुभयो ।
यसैगरी नेता बसन्ती चौधरीले महिला सशक्तीकरण र समावेशिताका लागि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । “महिलाहरूलाई नेतृत्वमा ल्याउन र उनीहरूको क्षमता विकास गर्न हामीले थप पहल गर्नुपर्छ,” उहाँको भनाइ थियो ।
अर्का नेता बोम छन्त्यालले युवाहरूलाई सङ्गठनमा आकर्षित गर्न र उनीहरूको ऊर्जालाई उपयोग गर्न स्वयंसेवक दस्ता प्रभावकारी हुने धारणा राख्नुभयो ।
बैठकमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका अध्यक्ष वा इन्चार्जहरूले आ–आफ्ना जिल्लाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । बैठकले असोज मसान्तसम्म सबै जिल्ला अधिवेशन सम्पन्न गर्ने, प्रदेशस्तरीय महिला भेला र युवा स्वयंसेवक दस्ताको भेला आयोजना गर्ने महत्त्वपूर्ण निर्णय गरेको छ । यी भेलाहरूले सङ्गठनको गतिशीलता र समावेशी सहभागिता बढाउने अपेक्षा गरिएको छ ।
यो बैठकले महासङ्घको सङ्गठनात्मक संरचनालाई बलियो बनाउन र आदिवासी जनजातिका मुद्दाहरूलाई थप प्रभावकारी रूपमा उठाउन मार्गदर्शन प्रदान गरेको नेताहरूले बताएका छन् ।








