खेतिको चटारोमा किसान, दाङमा असार ४ यता मल भित्रिएको छैन


पाण्डव शर्मा

घोराही, १८ असार । मध्य असार भइसक्दा पनि रासायनिक मल नआएपछि दाङका किसानहरू अत्यन्त चिन्तित भएका छन् ।
यस वर्ष समयमै राम्ररी वर्षा भएकोले किसानहरूले बेलैमा ब्याड राख्न पाए । वर्षा अनुकूल भएकाले किसानहरूमा यसपालिको धान खेती राम्रो हुने आशा पलाएको थियो । तर मल नआएकै कारण उक्त आशामा निराशा थपिएको छ ।

हाल दाङमा रासायनिक मलको चरम अभाव छ । जिल्लामा अहिले एक बोरा पनि रासायनिक मल उपलब्ध छैन । आधिकारिक रूपमा मल वितरणको जिम्मा पाएका कृषि सामग्री कम्पनी लिमिटेड र साल ट्रेडिङका गोदामहरू सुनसान छन् । दिनहुँ केही किसानहरू मलको खोजीमा कार्यालय धाउँछन् । कृषि सामग्री कम्पनीका कार्यालय प्रमुखलाई पटक–पटक किसानहरूबाट फोन आइरहेका छन्— “कहिले मल आउँछ?”

पछिल्लो पटक असार ४ गते मल दाङमा आएको थियो। त्यसयता अहिलेसम्म कुनै पनि मल भित्रिएको छैन ।

‘जब पर्छ राति, तब बुढी ताति’ भन्ने नेपाली उखान कृषि सामग्री कम्पनीको काममा चरितार्थ भएको देखिन्छ । असार ६ गतेदेखि १० गतेसम्म गोदामको छाना मर्मत गर्ने भनेर मल ल्याइएन । यस्तो काम वैशाख वा जेठमै सम्पन्न गर्नुपर्ने हो, तर ढिलासुस्तीले अहिले खेतमा मल हाल्नुपर्ने बेलामा मल अभाव भएको हो ।

उसैमा फेरीअसार १० पछि पूर्व–पश्चिम लोकमार्गको दाउन्ने क्षेत्रमा ठूला मालवाहक गाडी सञ्चालनमा रोक लगाइएकाले वीरगञ्जबाट मल आउन नसकेको कृषि सामग्री कम्पनीको भनाइ छ । अब एकसाता भित्र मल वितरण शुरु हुने कम्पनिले बताएको । दाङमा किसानले धान रोपिसक्ने र मल आउने साथसाथै हुने देखिएको छ ।

तुलसीपुर–१५ निवासी किसान खुशीराम चौधरी आँफूले जीवनमा सधै मलको अभाव भोग्नुपरेको बताउनुहुन्छ । ‘नेपाललाई कृषिप्रधान मुलुक भनिन्छ तर, सधै मलको अभाव हुन्छ,’ उहाँले भन्नुभयो, ‘किसानले सहजै मल पाउने दिन कहिले आउला ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *