घोराही, १० असार । घोराही उपमहानगरपालिकामा भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित रूपमा बसोबास गर्दै आएका नागरिकहरूको आवास स्थायीत्वका लागि जग्गा नापजाँचको काम तीव्ररूपमा अगाडि बढेको छ।
वडा नम्बर १ मा नापजाँच कार्य सम्पन्न गरेपछि मङ्गलवारदेखि वडा नम्बर २ मा जग्गा नापजाँच प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको छ।
घाेराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्ष हुकुम बस्नेत, सदस्य हिरा पुन, नापी कार्यालयका प्रमुख पुरण चौधरी, वडा नम्बर २ का अध्यक्ष चित्रबहादुर चौधरी, उपमहानगरको भूमि व्यवस्थापन शाखाका प्रमुख इश्वरराज पाण्डे, र सर्वेक्षक किरण महतरा लगायतको उपस्थितिमा जग्गा नापजाँच कार्य गरिएको छ ।
वास्तविक भूमिहिन र सुकुम्बासी परिवारहरूको पहिचान गरी उनीहरूलाई कानुनी रूपमा जग्गा स्वामित्व दिलाउने लक्ष्य अनुरुप नापजाँचकाे कार्यलाई अगाडि बढाइएकाे छ। उपमहानगरले यस कार्यलाई तीव्रता दिँदै अन्य वडाहरूमा पनि क्रमशः नापजाँच कार्य सुरु गर्ने जनाएको छ।
स्थानीय बासिन्दाहरूले यस कार्यलाई स्वागत गर्दै जग्गा नापजाँचले उनीहरूको जीवनमा स्थायित्व र सुरक्षाको अनुभूति दिलाउने विश्वास व्यक्त गरेका छन्।