१) साहित्यमा २० वर्षभन्दा बढी सक्रिय रही हालसम्म ११ वटा उपन्यास प्रकाशित गर्नु भएका उपन्यासकार सविन प्रियासनज्यू, सर्वप्रथम तपाईंलाई हार्दिक बधाई दिन चाहन्छौं । तपाईंलाई अहिलेको तपाईँको साहित्यिक यात्राको मूल्यांकन कसरी गर्नुहुन्छ ?
–धन्यवाद । मेरो साहित्यिक यात्रा एक प्रकारको निरन्तर अभ्यास, समाजप्रतिको उत्तरदायित्व र कलमप्रतिको प्रतिबद्धताको परिणाम हो भन्न सकिन्छ । २०५८ सालतिरदेखि साहित्य लेख्न थालेको हुँ । शुरूमा कविताबाट सुरु भयो, त्यसपछि कथा, निबन्ध हुँदै उपन्यास लेखनमा गहिरिएँ । आज म जुन स्थानमा छु, त्यो कुनै आकस्मिकता होइन—समय, श्रम, अनुभव र समाजसँगको अन्तरक्रियाको उपज हो ।
२) नेपालमा सबैभन्दा धेरै उपन्यास प्रकाशित गर्ने दोस्रो उपन्यासकारको रुपमा तपाईं स्थापित हुनुभएको छ । यो यात्रालाई तपाईंले व्यक्तिगत र राष्ट्रिय सन्दर्भमा कसरी हेर्नुहुन्छ ?
–यो मेरो व्यक्तिगत तर्फबाट एउटा सन्तोषको विषय हो । तर यो केवल व्यक्तिगत गौरवको कुरा होइन, यो मोफसलबाट लेखन गर्ने हाम्रा लेखकहरूका लागि पनि एक प्रेरणाको विषय हो । राजधानी केन्द्रित साहित्यिक अभ्यासबीच मोफसलबाट लेखिएका कृतिहरू पनि पाठकको रोजाइमा पर्न सक्छन् भन्ने कुरा मैले प्रमाणित गर्न सकेको छु भन्ने लाग्छ ।
३) तपाईंको लेखनीले विविध विषय समेटेको पाइन्छ—‘कडी’, ‘ब्रेकअप डायरी’, ‘एयरहोस्टेस’, ‘पुनरागमन’ देखि ‘रोदनपछिको’ सम्म । यी उपन्यासहरूमा तपाईंले कुन–कुन सामाजिक पक्ष समेट्न खोज्नुभएको छ ?
–हरेक उपन्यासमा कुनै न कुनै सन्देश हुन्छ । जस्तो ‘कडी’ले वर्ग–विभाजन र सामाजिक अन्यायमाथि चोट गर्छ, ‘ब्रेकअप डायरी’ले युवाको मनोविज्ञान र आधुनिक प्रेमबारे चर्चा गर्छ । ‘एयरहोस्टेस’ जीवनशैली, पेशा र पारिवारिक द्वन्द्वमा केन्द्रित छ भने ‘पुनरागमन’ र ‘रोदनपछिको’ जस्ता कृतिहरूले जीवनको मूलभूत प्रश्नहरूसँग पाठकलाई जुधाउँछन् । म लेखनलाई केवल मनोरञ्जनको माध्यम होइन, सामाजिक चेतना अभिव्यक्त गर्ने अस्त्रको रुपमा प्रयोग गर्छु ।
४) तपाईंले सात दिनमै उपन्यास लेख्ने क्षमता राख्नुभएको छ भन्ने पनि चर्चा छ । यसलाई के रणनीति वा अभ्यासको नतिजा भन्न सकिन्छ ?
–सात दिनमै लेखिएको उपन्यास भन्नाले लेख्ने गति मात्र होइन, सोचको स्पष्टता, कथावस्तुको परिपक्वता र लेखकको मानसिक तयारी पनि महत्वपूर्ण हुन्छ । ‘लकडाउन लभ’ मैले सात दिनभित्र लेखेँ, किनभने कथावस्तु मनमा धेरै पहिलेदेखि पकिरहेको थियो । लगातार लेखन गर्ने बानी र विषयप्रतिको गहिरो संवेदनशीलता हुँदा यस्तो सम्भव हुन्छ । म लेख्न बस्दा मलाई मेरो वरपर के भैरहेको छ भन्ने कुराले कुनै असर गर्दैन । म कथा, कथाभित्रको पात्र अनि परिवेशमा केन्द्रीत बन्छु ।
५) साहित्यसँगै पत्रकारितामा पनि तपाईंको सक्रियता देखिन्छ । दुवै क्षेत्रमा कलम चलाउनु तपाईंका लागि चुनौतीपूर्ण हुन्छ कि पूरक ?
–मलाई लाग्छ पत्रकारिता र साहित्य पूरक हुन् । पत्रकारिता तत्कालीन यथार्थलाई उजागर गर्छ भने साहित्य त्यस यथार्थलाई गहिराइमा गएर व्याख्या गर्छ । मैले पत्रकारिता गर्दा प्राप्त अनुभवहरूले साहित्यमा विषयवस्तुको विविधता दिन्छ । अहिले नेपाल पत्रकार महासंघको केन्द्रीय सचिवको जिम्मेवारीमा छु, तर त्यो जिम्मेवारीले पनि मलाई अझ बढी सामाजिक उत्तरदायित्वको बोध गराउँछ ।
६) तपाईंले राप्ती साहित्य परिषद्को महासचिवको रूपमा पनि काम गर्नुभएको थियो । त्यस भूमिकाले तपाईंको साहित्यिक यात्रामा के योगदान दियो ?
–राप्ती साहित्य परिषद्ले मलाई साहित्यिक नेतृत्वको जिम्मेवारी सिकायो । मोफसलका लेखकहरूलाई संगठित गर्न, गोष्ठी र कार्यशालाहरू चलाउन र नयाँ पुस्तालाई प्रेरित गर्न म त्यो समयमा अग्रसर थिएँ । त्यो संस्थागत अनुभवले मेरो विचारलाई परिष्कृत बनायो । साहित्य केवल सिर्जनाको कुरा होइन, समुदाय निर्माण र नेतृत्वको पनि कुरा हो भन्ने मैले त्यहीँ सिकेँ । म यहाँसम्म आउनुमा राप्ती साहित्य परिषद्को ठूलो देन छ । सुरुमा म परिषद्को केन्द्रीय सदस्य पनि भएको हुँ ।
७) साहित्यको क्षेत्रमा योगदानका लागि तपाईं राष्ट्रपतिबाट विभूषित हुनुभएको छ । यस्तो सम्मानले तपाईंलाई कस्तो अनुभूति भयो ?
–राष्ट्रपतिबाट सम्मान पाउनु भनेको केवल व्यक्तिगत गर्वको कुरा होइन । त्यो सम्पूर्ण मोफसल साहित्यकारहरूको मान्यता हो । म यो सम्मानलाई मेरो लेखनीप्रतिको समाजको विश्वासको प्रतीक मान्छु । यसले थप लेख्न, अझ जिम्मेवारीपूर्वक समाजसँग संवाद गर्न प्रेरित गर्यो ।
८) दाङमा रहेको त्रिभुवन नगर जेसीजले तपाईंलाई पहिलो उत्कृष्ट युवा पुरस्कार दिएको थियो । यसले तपाईको यात्रामा कस्तो प्रभाव पा¥यो ?
–निश्चय पनि । त्यो मेरो जीवनको प्रारम्भिक सफलतामध्ये एक हो । जेसीजको म आजसम्म सदस्य भएको छैन । आफु नजोडिएको संस्थाले आफै मूल्यांकन गरेर त्यो पनि पहिलो पुरस्कार दिएपछि मलाई यसले समाजमा स्थापित हुन थप सहज बनायो । सामाजिक मान्यता र प्रोत्साहनले लेखकको आत्मविश्वास बढाउँछ । त्यसपछि मैले लेखनलाई केवल व्यक्तिगत रुचिको कुरा होइन, सामाजिक रूपान्तरणको साधनको रूपमा हेर्न थालेँ ।
९) तपाईंका कथा संग्रह र लेखसंग्रह पनि प्रकाशित छन् । ती कृतिहरूको भावभूमिबारे केही बताइदिनु होस ।
–ती कृतिहरूमा म दैनिक जीवनका अनुभव, समाजका विविध पक्ष, राजनीति, शिक्षा, युवाहरूको मनोविज्ञान लगायतका विषयहरू समेट्ने प्रयास गर्छु । लेख र पत्रिकाको सम्पादकीय संग्रहहरूमा पत्रकारिताको अनुभव मिसिएको छ भने कथा संग्रहमा संवेदनात्मक पक्ष बलियो देख्न सकिन्छ । म हरेक लेखनमार्फत पाठकको सोचमा केही सकारात्मक परिवर्तन ल्याउन चाहन्छु ।
१०) तपाईंको रचनाहरू विभिन्न राष्ट्रिय दैनिक, साप्ताहिक, मासिक पत्रपत्रिकामा छापिएका छन् । यसले तपाईंलाई कस्तो पाठक वर्ग बनाएको अनुभव छ ?
–म विविध पाठक वर्गसँग जोडिएको छु । युवाहरू, साहित्यप्रेमीहरू, अध्यापकहरू, पत्रकारहरू, महिला पाठकहरू—सबैसँग मेरो संवाद कायम छ । म विशेषतः आम मानिसका कुरा लेख्न चाहन्छु, त्यसैले मेरो पाठक वर्ग पनि विविध र फराकिलो छ ।
११) पछिल्लो समय तपाईं विकास र समृद्धिको वकालत गर्दै साहित्यलाई त्यसतर्फ मोड्नुपर्छ भन्ने पक्षमा हुनुहुन्छ । यसको आवश्यकता किन महसुस गर्नुभयो ?
–समाज अब केवल पीडा र अन्यायको चित्रणमा अड्किएर बस्न सक्दैन । हामीलाई आशा, समृद्धि र परिवर्तनको कथा चाहिएको छ । साहित्यले अब समाधान खोज्नुपर्ने, विकासका सम्भावनाहरू पहिचान गर्नुपर्ने, सकारात्मक उदाहरणहरू प्रस्तुत गर्नुपर्ने आवश्यकता छ । त्यसैले म भन्छु, अब साहित्य समृद्धिको यात्रामा सँगै हिँड्नुपर्छ ।
१२) अबको नेपाली साहित्य कुन दिशातर्फ जानुपर्छ भन्ने लाग्छ तपाईंलाई ?
–अबको साहित्यले सहानुभूति मात्र होइन, समाधान पनि दिनुपर्छ । विज्ञान, प्रविधि, उद्यम, समृद्धि, सामाजिक समानता, लैंगिक समानता, समावेशी विकास—यी विषयहरूमा साहित्यले कलम चलाउनुपर्छ । राष्ट्रिय निर्माणमा साहित्यको भूमिका अझै प्रभावकारी हुनुपर्छ ।
१३) तपाईका आगामी योजनाहरू के छन ? नयाँ कृति लेख्ने तयारीमा हुनुहुन्छ ?
–अहिले एउटा सामाजिक–राजनीतिक पृष्ठभूमिमा आधारित उपन्यास लेख्ने तयारीमा छु । यसले नेपाली राजनीति, विचारधारा, संघर्ष र आम जनताको आशा–निराशालाई समेट्नेछ । साथै, केही लेखसंग्रह र निबन्ध संग्रह प्रकाशन गर्ने योजना पनि छ ।
१४) अन्तिममा, नयाँ लेखकहरूलाई के सन्देश दिन चाहनुहुन्छ ?
–लेख्नुहोस्, तर गहिरिएर लेख्नुहोस् । समाजलाई पढ्नुहोस्, बुझ्नुहोस् र लेखनमा प्रतिबद्ध रहनुहोस् । प्रसिद्धिको पछि नलागौं, सत्य र संवेदना खोजौं । साहित्य केवल नाम कमाउने माध्यम होइन, समाज बदल्ने औजार हो भन्ने विश्वास राख्नुपर्छ। निरन्तर लेखिरहनुहोस्—आज होइन भने भोलि, तपाईंको शब्दले परिवर्तन ल्याउनेछ ।