नेपाल राष्ट्रिय शिक्षक संगठन घोराही नगरसमितिको नगर परिषद सम्पन्न

घाेराही, २५ जेठ । नेपाल राष्ट्रिय शिक्षक संगठन घोराही नगर समितिको छैठौं नगर परिषद शनिबार सम्पन्न भएको छ । परिषद घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्य तथा संगठन लुम्बिनी प्रदेश अध्यक्ष भागवत पौडेलको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न विषयमा विचार विमर्श गर्दै शिक्षाको गुणस्तर, परीक्षाको व्यवस्थित प्रणाली र शिक्षकको भूमिका सम्बन्धी महत्वपूर्ण मन्तव्यहरू प्रस्तुत गरिए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख नरुलाल चौधरीले शिक्षक गीतमा वर्णन गरिएको जस्तै सूर्यको ज्योति समान तेजिलो शिक्षाको किरण छर्न सक्ने शिक्षक बन्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । उहाँले बादलले ढाकेका बेला वा कुहिरो लागेको समयमा सूर्यले प्रकाश त दिने तर त्यसको प्रभाव विरुवा र जनावरमा नपुग्ने उदाहरण दिँदै शिक्षकले पनि आफ्नो शिक्षा कसरी प्रभावकारी बनाउने भन्ने कुरा निर्धारण गर्नुपर्ने बताउनुभयो । खुला आकाश भएको बेलाको सूर्य जसको प्रकाश सबैमा समान रूपमा पर्छ, त्यसरी नै सबै विद्यार्थीमा समान रूपमा शिक्षाको प्रभाव पार्न सक्ने शिक्षकमात्र प्रभावकारी हुने उहाँको भनाइ थियो ।

प्रमुख चौधरीले वास्तविक रूपमा शिक्षित विद्यार्थीले मात्र गुण र दोषको आधारमा विचार निर्माण गर्न सक्ने क्षमताको विकास गर्न सक्ने बताउँदै सिपविहीन सर्टिफिकेटले केही गर्न नसक्ने स्पष्ट गर्नुभयो । उहाँले समाजिक रुपान्तरण र आर्थिक उन्नयनमा योगदान दिने ‘गरिखाने शिक्षा’को विकासका लागि आफू निरन्तर लागिपरेको उल्लेख गर्नुभयो ।

नगर परिषदमा प्रमुख चौधरीले आगामी दिनमा कक्षा ५ को नगरस्तरीय परीक्षा अझ व्यवस्थित बनाउने योजना रहेको जानकारी दिनुभयो । उहाँका अनुसार परीक्षामा होम सेन्टर नै रहने भए पनि परीक्षाको निगरानीका लागि निरीक्षकहरू अन्य विद्यालयबाट ल्याइ परीक्षा सञ्चालन गरिने तयारी भइरहेको छ । साथै अब विद्यालयको अनुगमनमा जाँदा कक्षा कोठामा नै गएर विद्यार्थीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गरी उनीहरूको ‘सिकाई स्तरीय’ जानकारी लिने र त्यसको आधारमा शिक्षक तथा प्रधानाध्यापकलाई आवश्यक सल्लाह र सुझाव दिने योजना बनाएको बताउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि लुम्बिनी प्रदेश अध्यक्ष भागवत पौडेलले विगत चैत्र–बैशाखमा राजधानीमा केन्द्रित भएर गरिएको शिक्षक आन्दोलनका क्रममा सरकारले गरेका सहमति अनुसार नयाँ शिक्षा ऐनमा धेरै विषयवस्तु समेटिने बताउनुभयो । उहाँले सामाजिक सञ्जालमा आएका विभिन्न समाचारहरूका आधारमा नकारात्मक टिप्पणी नगर्न आग्रह गर्दै शिक्षा ऐनको मस्यौदा प्रतिक्षा गर्नुपर्ने सुझाव दिनुभयो ।

नगर परिषद्को अवसरमा संगठनले विशेष सम्मान तथा बिदाइ कार्यक्रमसमेत आयोजना गरेको थियो । वडा नं. १४ का वडाध्यक्ष भानसिंह बुढालाई संगठनको उन्नयनमा अभिभावकीय भूमिका निर्वाह गरेकोमा सम्मान गरिएको थियो भने वडा नं. ११ का इन्चार्जको रूपमा सक्रिय भूमिका निर्वाह गर्दै संगठनको वृद्धिमा योगदान पुर्याउने टिकाराम खनाललाई पनि सम्मानपत्रसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष तथा जनसंगठन विभाग प्रमुख मनोहर बुढाथोकी, पेशागत महासंघ लुम्बिनीका उपाध्यक्ष श्रीमण न्यौपाने, नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष मिनराज शर्मा पण्डित, निवर्तमान अध्यक्ष दामोदर बस्नेत, नेपाल शिक्षक संघ घोराही अध्यक्ष खिमप्रसाद पुरी, निवर्तमान कोषाध्यक्ष विजय अधिकारी, जिल्ला सचिव धनिराम के.सी. लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

नगर परिषद् नेपाल राष्ट्रिय शिक्षक संगठन घोराहीका अध्यक्ष पोषणराज विष्टको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा नगर सचिव खिमबहादुर बुढाले सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष केशव खत्रीले आर्थिक प्रतिवेदन तथा महिला विभाग संयोजक विमला पौडेलले महिला विभागको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम उपाध्यक्ष विमला पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने सहजीकरण नगर सचिव खिमबहादुर बुढाले गर्नुभएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *