विवेक श्रेष्ठ
नेपालमा गणतन्त्रको स्थापनाको पृष्ठभूमि निकै संघर्षपूर्ण रह्यो । नेपाली जनताले दशकौँ लामो समयसम्म निरंकुशता, अन्याय, शोषण र विभेदविरुद्ध दृढतापूर्वक आवाज उठाए । अन्ततः हजारौँको बलिदान, लाखौँको सहभागिता र बुइँ चढेका आन्दोलनहरूले नेपालमा गणतान्त्रिक शासन प्रणालीको उदय गराए । तर, आज गणतन्त्रको स्थापनालाई वर्षौँ बितिसक्दा पनि नेपाली जनताले अपेक्षाकृत रुपमा गणतन्त्रको अनुभूति गर्न सकेका छैनन् ।
गणतन्त्र भनेको केवल शासन प्रणालीको रूपान्तरण मात्र होइन, यो जनताको जीवनशैली, सम्मान र समानताको सुनिश्चितता पनि हो । जनताले अधिकार मात्र होइन, अवसर पनि खोजिरहेका छन् । उनीहरू गरिबी, बेरोजगारी र अभावको पीडाबाट मुक्तिको चाहना राख्छन् । तर आज पनि देशका लाखौँ युवा वैदेशिक रोजगारीको सपना बोकेर देश छाड्न बाध्य छन् । राज्यको मूल जिम्मेवारी नागरिकलाई आफ्नो भूमिमा सम्मानजनक जीवनयापन गर्ने वातावरण तयार गर्नु हो । तर यहाँ त युवालाई सस्तो श्रममा विदेश पठाउने रेमिट्यान्समा देश चलाउने प्रवृत्ति हावी भइरहेको छ ।
गणतन्त्रको स्थापनाका लागि हामीले धेरै दुःख झेल्यौं । तत्कालीन शाही सत्ताको कठोर दमनको बाबजुद पनि आन्दोलन रोकिएन । म स्वयं विद्यार्थी नेताको रूपमा आन्दोलनको अग्रमोर्चामा थिएँ । प्रहरी लाठी, आँसु ग्याँस, गोली र गिरफ्तारी हाम्रो दिनचर्या बनिसकेको थियो । तर हाम्रो हिम्मत कहिल्यै चिसिँदैनथ्यो । हामीमा गणतन्त्रको दृढ सपना थियो – एउटा यस्तो शासन व्यवस्था, जहाँ सबै नागरिक बराबरीको हैसियतमा रहुन्, राज्य जनताको सेवक होस्, शासक होइन ।
आज ती सपनाहरू साकार भएका छन् भन्ने दाबी गर्न अझै सकिँदैन । केही संस्थागत उपलब्धिहरू भए पनि जनताले चाहेको परिवर्तन जस्ताको तस्तै छैन । भ्रष्टाचार, कुशासन, दलगत विभाजन, सत्ता लोभ र असमानताका समस्या यथावत् छन् । जनताको मतबाट चुनिएका प्रतिनिधिहरू जनताको भन्दा बढी पार्टीको निर्देशनमा चलिरहेका छन् ।
यतिबेला हामीले जनआन्दोलनका प्रथम सहित उमेश चन्द्र थापालाई सम्झनुपर्ने हुन्छ । तत्कालीन शाही सत्ताले घोषणा गरेको नगर निर्वाचन बहिष्कार गर्ने क्रममा उहाँमाथि गोली लागेको थियो । गोली लागि उहाँको निधन भयो ।
सो क्रममा देवी पाेखरेल, अम्बिका पाेखरेल, अनिता देवकाेटा, सुष्मा शर्मा घिमिरे, वमबहादुर डिसी, विरकेश्वरी गाैतम, रेवतिरमण शर्मा, सीता न्याैपाने, कृष्ण गिरि, ओपेन्द्र खड्का, लिला शाह, गिता शाह वविता केसी, विष्णु लामिछाने लगायतलाई चोटपटक लागेको थियो भने केही गम्भीर घाइते हुनुभएको थियो । हामीले गोली चलेपछि तितरबितर भएको मासलाई व्यवस्थित गर्न तत्काल सभा गरेका थियौ ।
सो सभामा काङ्ग्रेसबाट भीमप्रकाश खड्का, एमालेबाट केशव न्याैपाने र राष्ट्रिय जनमाेर्चाका राजकुमार कक्षपतिले बाेल्नुभएकाे थियाे ।
कार्यक्रमकाे सञ्चालन विद्यार्थी नेताकाे हैसियतले मैले गरेको थिए । गाेली चलिसकेपछि पनि हामीले कार्यक्रम सञ्चालन गरेका थियौं ।
गणतन्त्रको वास्तविक अनुभूति दिलाउन अब जिम्मेवार गणतन्त्रवादी शक्तिहरूबीच एकता अपरिहार्य छ । आज हामीले आपसमा शक्ति बाँडफाँड होइन, जिम्मेवारी बाँडफाँडमा प्रतिस्पर्धा गर्नुपर्छ । हिजो आन्दोलनको मैदानमा सँगै लडेका हामीहरू आज पनि जनताको पक्षमा एउटै मोर्चामा उभिन सक्नुपर्छ । यदि फेरि पनि राजनीतिक दलहरूले स्वार्थ र कुर्सी केन्द्रित राजनीति मात्र गर्ने हो भने जनतामा निराशा फैलिनेछ, जुन गणतन्त्रको विरुद्धमा खतराको संकेत हुनेछ ।
गणतन्त्रको मर्म जनतासँग साक्षात्कार गराउनु भनेको शिक्षा, स्वास्थ्य, रोजगारी, न्याय र समानताको प्रत्याभूति गर्नु हो । यसका लागि योजनागत विकास, नीति सुधार, सुशासन, र संस्थागत पारदर्शिता जरुरी छ । देश अब राजनीतिक स्थायित्वको चरण पार गर्दै आर्थिक समृद्धिको यात्रामा उत्रिनुपर्छ । समावेशी विकास, क्षमताको सदुपयोग, र युवा शक्ति स्वदेशमै परिचालन गर्ने कार्यक्रम ल्याइनुपर्छ ।
हिजोका आन्दोलनले हामीलाई गणतन्त्र दिए । अब आजको जिम्मेवारी हो – त्यस गणतन्त्रलाई जनताको जीवनमा प्रत्यक्ष अनुभूत हुने बनाउने । केवल नारामा सीमित गणतन्त्रले न समाज परिवर्तन हुन्छ, न देशको दिशा बदलिन्छ ।
अब समय हो – अतीतको संघर्षको कदर गर्दै वर्तमानमा परिणाममुखी काम गर्ने । जनताको अनुहारमा मुस्कान ल्याउन सक्ने योजना, कार्यशैली र राजनीतिक संस्कार विकास गर्ने । त्यो दिन नै साँचो अर्थमा गणतन्त्रको विजयदिवस हुनेछ ।
नेपालले गणतन्त्र त पायो तर त्यो गणतन्त्रलाई सार्थक बनाउन अझै धेरै बाटो हिँड्न बाँकी छ । जनता भौतिक र आत्मिक दुवै रूपमा समृद्ध भएका दिन, हिजोको बलिदानको मूल्य चुकाइएको हुनेछ । त्यस दिनका लागि आज हामी सबै सचेत, एकीकृत र प्रतिबद्ध हुनु जरुरी छ ।
( पूर्व विद्यार्थी नेता श्रेष्ठ नेकपा एमाले दाङको सचिवालय सदस्य एवं निर्वाचन विभाग प्रमुख हुनुहुन्छ ।)