चेतना अनलाइन
काठमाण्डाैं, ३१ वैशाख । प्रतिनिधिसभा सदस्य एवं नेकपा (एमाले) की नेतृ मेनका पोखरेलले दाङको टरीगाउँ विमानस्थल निर्माण र घोराही–तुलसीपुर सडकखण्ड फोरलेन विस्तार गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धताप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ । संसदको शून्य समयमा बोल्दै सांसद पोखरेलले यी दुई महत्वपूर्ण आयोजनाले दाङको विकासमा कोसेढुंगा साबित हुने विश्वास व्यक्त गर्नुभयो ।
पोखरेलले प्रधानमन्त्री ओलीले संसदमा व्यक्त गरेको प्रतिबद्धता अनुरूप यी आयोजनाहरू तोकिएको समयमै सम्पन्न हुनेमा आफू आशावादी रहेको बताउनुभयो । उहाँले यी योजनाहरूका लागि आवश्यक बजेट विनियोजन गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गर्दै दाङको समग्र विकासका लागि यो कदम ऐतिहासिक हुने उल्लेख गर्नुभयो । “प्रधानमन्त्रीको यो प्रतिबद्धताले दाङबासीको विकासप्रतिको हुटहुटी र आकांक्षालाई सम्बोधन गरेको छ,” उहाँले भन्नुभयो ।
टरीगाउँ विमानस्थलको निर्माणले दाङको हवाई सम्पर्क विस्तार गरी आर्थिक गतिविधिमा टेवा पुग्ने अपेक्षा गरिएको छ । यस्तै घोराही–तुलसीपुर फोरलेन सडक विस्तारले यातायात सहज बनाउनुका साथै व्यापार र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने स्थानीयको विश्वास छ । सांसद पोखरेलले दाङबासीको तर्फबाट प्रधानमन्त्री ओलीलाई विशेष धन्यवाद दिँदै यी आयोजनाले जिल्लाको समृद्धिको ढोका खोल्ने बताउनुभयो ।
उहाँले दाङको विकासमा प्रधानमन्त्रीको यो कदमले स्थानीय जनतामा उत्साह थपिएको उल्लेख गर्नुभयो । “हामी दाङबासी यो प्रतिबद्धताबाट अत्यन्त प्रसन्न छौं, यसले हाम्रो विकासको सपनालाई साकार पार्नेछ,” पोखरेलले थप्नुभयो । यी आयोजनाको समयमै कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराउँदै उहाँले सबै सरोकारवालालाई सहयोग गर्न आह्वान गर्नुभयो ।








