चेतना अनलाइन
घोराही, २८ वैशाख । नेकपा एमाले दाङ जिल्ला कमिटीको बैठक पार्टी कार्यालय भरतपुर, घोराहीमा सम्पन्न भएको छ । बैठक जिल्ला कमिटीका अध्यक्ष शिवकुमार आचार्यको अध्यक्षता र जिल्ला इञ्चार्ज नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
बैठकले पार्टी महासचिव शंकर पोख्रेलको उपस्थितिमा जेठ ६ गते तुलसीपुरमा ‘नेत्र स्मृति दिवस’ मनाउने र जेठ ७ गते घोराहीमा स्थानीय जनप्रतिनिधिहरूको भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । त्यस्तै, जेठ ३ गते ‘मदन–आश्रित स्मृति दिवस’को अवसरमा देउखुरीमा विशेष कार्यक्रम गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले जेठ १० गतेभित्र पार्टी सदस्यता नविकरण प्रक्रिया सम्पन्न गर्न वडाहरूलाई निर्देशनसमेत दिएको छ ।
बैठकलाई सम्बोधन गर्दै पोलिटब्युरो सदस्य तथा दाङ इञ्चार्ज नरुलाल चौधरीले जनताका पक्षमा हुने कामहरूमा सहकार्य गर्दै पार्टीका नेता तथा कार्यकर्ताहरूलाई क्रियाशील रहन आग्रह गर्नुभयो । “जरा तहसम्म पार्टीलाई बलियो बनाउन वडा र टोलहरूमा केन्द्रित हुनु अनिवार्य छ, त्यहाँ ध्यान दिनुस्,” चौधरीले भन्नुभयो ।
जिल्ला अध्यक्ष शिवकुमार आचार्यले बैठकमा सम्बोधन गर्दै भन्नुभयाे, “आ–आफ्नो जिम्मेवारीअनुसार पार्टीको काममा केन्द्रित हुनुहोस् । आफ्ना व्यक्तिगत काम र पार्टी कामको सन्तुलन मिलाउँदै जिम्मेवारीका साथ लाग्नुस्, बहाना नबनाउनुस् ।”
बैठकमा दाङ जिल्लाका १० वटै स्थानीय तहका अध्यक्षहरूले आफ्ना पालिकामा भएका गतिविधिबारे प्रतिवेदन पेश गर्नुभएको थियो ।
बैठकले नेकपा एमाले दाङको प्रचार तथा प्रकाशन विभागलाई पूर्णता दिएको छ । विभागको प्रमुखमा सचिवालय सदस्य संगीत बस्याल रहनुभएको छ भने सचिवमा किरण गौतम मनोनित हुनुभएको छ ।
विभाग सदस्यहरूमा दशरथ घिमिरे, रिता लामा, हेमराज डाँगी, पाण्डव शर्मा, दिप्तिशिखा चौधरी, गोकर्ण पौडेल, शिवराज पन्थी, सन्तोष कुमार गुप्ता र अर्जुन परियार रहनुभएको चौतारी फाँट प्रमुख गणेश आचार्यले यसबारे जानकारी दिनुभएको हो ।
उपाध्यक्ष मनोहर बुढाथोकीकाे स्वाागत मन्तब्यबाट शुरू भएकाे बैठकको सहजिकरण जिल्ला उपसचिव भुवनेश्वर पौडेलले गर्नुभएको थियो ।