काठमाडौं । प्रतिनिधिसभा सदस्य मेनका पोखरेलले लागू पदार्थ दुर्वेसनी रोक्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभएको छ । संसद्को आजको बैठकमा सुन्ने समयमा उहाँले बोल्दै लागू पदार्थको बढ्दो प्रयोग र यसको ओसारपसार गम्भीर समस्याको रुपमा देखिएको बताउनुभयो ।
पोखरेलले भन्नुभयो, “युवावर्ग लागू पदार्थको कुलतमा फँसिरहेको अवस्था चिन्ताजनक छ । यसले भविष्यको पुस्तालाई जोखिममा पारिरहेको छ । लागू पदार्थको ओसारपसार र प्रयोग रोक्न राज्यले अब ढिला गर्नुहुँदैन ।”
उहाँले सरकार र सरोकारवाला निकायहरूबाट भइरहेको प्रयास प्रभावकारी नभएको उल्लेख गर्दै यसको रोकथामका लागि ठोस नीति र प्रभावकारी कार्यक्रम आवश्यक रहेको बताउनुभयो । “खासगरी तल्लो वर्गका समुदायहरू, महिला, दलित तथा विपन्न वर्गका मानिसहरूलाई लागू पदार्थ ओसारपसारमा भरियाको रुपमा प्रयोग गरिएको छ । यस्तो अमानवीय कार्य रोक्न सरकार गम्भीर बन्नुपर्छ,” पोखरेलले भन्नुभयाे ।
सांसद पोखरेलले सुरक्षा निकाय र भन्सार कार्यालयहरूलाई समेत जिम्मेवार बनाउँदै अन्तर्राष्ट्रिय सीमाबाट भित्रिने अवैध लागू पदार्थको निगरानी कडा बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यालय, क्याम्पस र सार्वजनिक स्थानहरूमा सजिलैसँग लागू पदार्थ उपलब्ध हुने अवस्था देखिएको भन्दै यसप्रति सरकारको गम्भीर ध्यान जानु आवश्यक भएको बताउनुभयो ।
पोखरेलले सामाजिक सञ्जालमार्फत युवामा लागू पदार्थको प्रवर्द्धन भइरहेको भन्दै त्यसतर्फ पनि कडाइ गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयाे, “एकातिर सरकार युवालाई समृद्धिको यात्रामा अघि बढाउने कुरा गर्छ, अर्कातिर लागू पदार्थको सहज पहुँचले उनीहरूलाई कुलतमा धकेल्दैछ । यो विरोधाभास हो ।”
उहाँले लागू पदार्थ नियन्त्रण तथा दुर्व्यसन न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । साथै, दुर्व्यसनमा फसेकाहरूको उपचार र पुनःस्थापना केन्द्रहरूको संख्या वृद्धि गर्नुपर्ने, प्रभावकारी निगरानी प्रणाली विकास गर्नुपर्ने र कानुनी कारबाहीमा ढिलासुस्ती नगर्न पनि आग्रह गर्नुभयो ।