घोराहीमा इञ्जिनियरिङ कलेजको भवन बनाउन ३५ करोडको ठेक्का

दुई वर्षभित्र पढाइ सुरु गर्ने तयारी, शैक्षिक ‘हब’ बन्दै दाङ

पाण्डव शर्मा
घोराही, २३ वैशाख । अब दाङका विद्यार्थीले सरकारी क्याम्पसमा इञ्जिनियरिङ पढ्न काठमाडौं वा विदेश जानुपर्ने बाध्यता हट्ने भएको छ ।
बहुप्रतिक्षित घोराही इञ्जिनियरिङ क्याम्पसको भवन निर्माणका लागि ३५ करोड रुपैयाँ बराबरको ठेक्का प्रक्रिया सुरु भइसकेको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत इञ्जिनियरिङ अध्ययन संस्थानले दाङको घोराही उपमहानगरपालिका वडा नं १५ मा महेन्द्र बहुमुखी क्याम्पसको पश्चिमतर्फ यो नयाँ भवन निर्माण गर्न टेण्डर आव्हान गरेको हो । दाङमा निजी तहबाट सञ्चालन भएको इञ्जिनियरिङ कलेज भए पनि सरकारी कलेज थिएन ।
घोराही क्याम्पसका प्रमुख रामप्रसाद पौडेलका अनुसार दुई वर्षभित्र भवन निर्माण सकिने र सोही समयमा इञ्जिनियरिङ पढाइको औपचारिक सुरुवात गरिने योजना बनाइएको छ । ‘अहिले क्याम्पसको कार्यालय स्थापना भइसकेको छ । हामीले पर्खाल लगाएर जग्गाको संरक्षण गरिसकेका छौं,’ उहाँले भन्नुभयो, ‘अब भवनसहित आवश्यक पूर्वाधार तयार गरेर दुई वर्षभित्र इञ्जिनियरिङ कक्षा सञ्चालन गर्छौं भन्ने लक्ष्य लिएका छौं ।’
यो क्याम्पस स्थापनाका लागि नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलसँग निरन्तर छलफल र पहल गर्नुभएको थियो । उहाँको सक्रियतामा बजेट सुनिश्चित भई आज टेण्डर प्रक्रिया अघि बढेको हो । महासचिव पोखरेलले भन्नुभयो, ‘दाङमा इञ्जिनियरिङ शिक्षाको सुरुवात हुनु केवल दाङका लागि मात्र होइन, समग्र मध्यपश्चिम क्षेत्रको शैक्षिक उन्नतिको लागि कोशेढुंगा सावित हुनेछ ।’ उहाँले थप्नुभयो, ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत चिकित्सा शिक्षाको पढाइ त यहाँ सुरु भइसकेको छ । अब इञ्जिनियरिङ पनि घरआँगनमै पढ्न मिल्ने भएपछि विद्यार्थीलाई काठमाडौं वा अन्य सहर धाउनु पर्ने बाध्यता अन्त्य हुनेछ ।’
पोखरेलले पछिल्लो समय राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट व्यवस्थापनदेखि अलपत्र अवस्थामा रहेको घोराही–तुलसीपुर चार लेन सडक विस्तारका लागि समेत केन्द्रमा पहल गर्दै आउनुभएको थियो । उहाँकै पहलमा घोराही–तुलसीपुर सडक विस्तारका लागि पनि नेपाल सरकारबाट बजेट सुनिश्चित भई ठेक्का प्रक्रिया अगाडि बढिसकेको छ ।
घोराही इञ्जिनियरिङ क्याम्पसअन्तर्गत बन्ने नयाँ भवन पाँच तला उचाइको हुनेछ ।
क्याम्पस प्रमुख पौडेलका अनुसार भवन निर्माणसँगै आधुनिक ल्याब, लाइब्रेरी र अन्य सम्पूर्ण पूर्वाधार पनि तयार पारिनेछ । ‘हामीले संरचना निर्माण सकिनेबित्तिकै जनशक्ति व्यवस्थापन गरेर पढाइ सुरु गर्ने तयारी गरेका छौं,’ पौडेलले भन्नुभयो, ‘घोराही क्याम्पसलाई पुल्चोक इञ्जिनियरिङ क्याम्पसकै स्तरमा सञ्चालन गर्ने हाम्रो लक्ष्य छ ।’
सुरुका वर्षहरूमा केही लोकप्रिय र माग भएका विषयमा मात्र पढाइ थालनी गरिने र क्रमशः इञ्जिनियरिङका सम्पूर्ण विषय विस्तार गरिने उहाँले जानकारी दिनुभयो । यसले दाङ र आसपासका जिल्लाका विद्यार्थीलाई सहज रूपमा गुणस्तरीय इञ्जिनियरिङ शिक्षा प्राप्त गर्ने अवसर दिलाउनेछ । साथै, यसले घोराहीलाई शैक्षिक केन्द्रको रूपमा अझ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।
[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *