घाेराही, १८ बैशाख । १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा पेशागत महासङ्घ जिल्ला कार्यसमिति दाङको आयोजनामा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम घोराहीमा सम्पन्न भएको छ ।
पेशागत महासङ्घ जिल्ला समिति दाङका अध्यक्ष खिमबहादुर डाँगीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेकपा (एमाले) िदाङका अध्यक्ष शिवकुमार आचार्यले अन्तर्राष्ट्रिय श्रमिक दिवसको ऐतिहासिक पृष्ठभूमि, नेपालमा श्रमिक आन्दोलन र त्यसमा नेकपा एमालेको भूमिकाबारे धारणा राख्नुभएको थियो । उहाँले भन्नुभयो, “श्रमिक आन्दोलन कम्युनिष्ट आन्दोलनको आधार हो । शिक्षा, स्वास्थ्य र रोजगारीका सवालमा नेकपा एमाले सधैँ प्रतिबद्ध छ ।”
कार्यक्रमका विशिष्ट अतिथि एमाले दाङका उपाध्यक्ष मनाेहर बुढाथोकीले पार्टी केन्द्रको नीति निर्देशनअनुसार देशका ७७ वटै जिल्लामा जनसंगठनहरूसँग सहकार्य गर्दै श्रमिक सम्मान कार्यक्रम भइरहेको जानकारी गराउनुभयो । उहाँले दाङमा सम्पन्न कार्यक्रमले श्रमिक आन्दोलनको समीक्षा र भावी कार्यदिशा तय गर्न सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
पेशागत महासङ्घ केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष उद्धव न्यौपानेले पेशाकर्मीहरूको हकहित र अधिकारका लागि एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका अध्यक्ष डाँगीले श्रमजीवीहरूका हक अधिकारको संरक्षण र सम्मानमा कार्यक्रमको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन दाङका संस्थापक अध्यक्ष नेमकुमार न्यौपाने, राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लिमिटेडका अध्यक्ष गणेश दाहाल, नेपाल राष्ट्रिय शिक्षक संगठन दाङका अध्यक्ष मिनराज शर्मा, राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालका केन्द्रीय सदस्य नारायण प्रसाद घर्ती, नेपाल विद्युत प्राधिकरण कर्मचारी सङ्घका संस्थापक नेता विश्वविलास शर्मा, सचिवालय सदस्य पूर्णबहादुर खाती, विश्वविद्यालय कर्मचारी सङ्घका केन्द्रीय अध्यक्ष गणेश ओली, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य बलबहादुर खड्का, लुम्बिनी प्रदेशका सचिव मोहन सिंह सुनार, नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व अध्यक्ष दामोदर बस्नेत, पेशागत महासङ्घ लुम्बिनी प्रदेशका उपाध्यक्ष श्रीमन न्यौपाने, किसान महासङ्घ दाङका अध्यक्ष केशव गिरी, नेपाल निजामती कर्मचारी संगठनकी पूर्व जिल्ला सचिव लक्ष्मी अधिकारी, केन्द्रीय महाधिवेशन प्रतिनिधि मनिषा चौधरीलगायत दर्जनौँ सङ्गठनका प्रतिनिधिको उपस्थिति थियो ।
कार्यक्रममा विभिन्न पेशामा आवद्ध पाँच जना श्रमिकहरूलाई खादा, माला, प्रमाणपत्र र नगदसहित सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा घोराही उपमहानगरपालिकाकी सरसफाइकर्मी तथा माली सितापती चौधरी, अटो मजदुर यमराज खनाल, कृषक तथा अटो मजदुर बुद्धिराम चौधरी, कार्यालय सहयोगी राम सिंह चौधरी र अटो मजदुर शक्तिराम बुढा रहेका छन् ।
कार्यक्रमको स्वागत मन्तव्य पेशागत महासङ्घ दाङका उपाध्यक्ष लालमणि खड्काले राख्नुभएको थियो भने सञ्चालन महासङ्घ जिल्ला समन्वय समितिका सचिव ठाकुरप्रसाद खनालले गर्नुभएको थियो ।








