अभिभावकविहीन बालबालिकाको अभिभावक सरकार बन्नुपर्छ : सांसद पोख्रेल

काठमाण्डौं, वैशाख १६ । प्रतिनिधिसभा सदस्य तथा नेकपा (एमाले) की केन्द्रीय सदस्य मेनका पोख्रेलले अभिभावकविहीन बालबालिकाको संरक्षण र समुचित व्यवस्थापनका लागि सरकार जिम्मेवार बन्नुपर्ने माग गर्नुभएको छ ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमार्फत बोल्दै सांसद पोख्रेलले संविधानले बाल सहभागिता, बाल विकास र बालबालिकाको समग्र हितका लागि संविधानकाे १० वटा छुट्टाछुट्टै धाराहरूमा व्यवस्था गरेको स्मरण गराउँदै बालबालिकाको जीवनरक्षा र भविष्यप्रति सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले  नेपालमा १८ वर्षमुनिका ९८ लाख ६९ हजार ५८३ बालबालिका मध्ये ७५ हजार ३०५ जना अभिभावकविहीन रहेकाे उल्लेख गर्दै तीमध्ये धेरै बालबालिका असुरक्षित र कष्टकर जीवन बिताउन बाध्य भएको भन्दै गम्भीर चासो व्यक्त गर्नुभयो ।

“४५ जिल्लाका ४१८ बालगृहमा जम्मा १० हजार ८८२ जना मात्र संरक्षणमा छन् भने बाँकी अझै जोखिममा छन्,” उहाँले भन्नुभयो, “अभिभावकविहीन बालबालिकाका लागि सरकार नै अभिभावक बन्नुपर्छ ।”

उहाँले १८ वर्षसम्म बालगृहमा बसेर समाजमा जाने बालबालिकालाई सुरक्षित र सम्मानित जीवनका लागि सरकार पूर्णरूपमा जवाफदेही हुनुपर्ने बताउँदै आगामी नीति, कार्यक्रम र बजेटमा सो कुरालाई समेट्न सभामुखमार्फत सरकारसँग माग गर्नुभएको हो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *