चेतना अनलाइन
काठमाडौं, १६ चैत । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले हिजो राजधानीमा भएका दुई प्रदर्शनमध्ये समाजवादी मोर्चाको कार्यक्रममा राजावादीको भन्दा धेरै जनसहभागिता देखिएकाे बताउनुभएकाे छ ।
सामाजिक सञ्जाल फेसबुकमा पाेष्ट गर्दै पोख्रेलले समाजवादी मोर्चाको प्रदर्शन शान्त र मर्यादित रहेकाे र राजावादीको कार्यक्रम हिंसात्मक र अराजक बनेकाे उल्लेख गर्नुभयाे । उहाँले राजावादीहरू आन्दोलनमार्फत सन्देश दिन असफल भएको र उल्टै नयाँ पुस्तालाई राजतन्त्रको निरंकुशता बुझ्ने मौका दिएको बताउनुभयो ।
पोख्रेलले आजको लोकतान्त्रिक युगमा जनचेतनाले कसैको स्वार्थ वा प्रतिशोधले समाज प्रभावित नहुने सन्देश दिनुपर्नेमा जोड दिनुभयो । उहाँले घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सुरक्षा निकायको संयमको प्रशंसा गर्नुभयो । साथै, आगजनी र लुटपाटबाट पीडितलाई राज्यले सम्बोधन गर्नुपर्ने तथा अपराधमा संलग्न र उक्साउने सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गर्नुभयो ।
पाेख्रेलले फेसबुकमा लेख्नुभएको छ – “हिजो एकै दिन राजधानीमा दुईवटा जनप्रदर्शन भए । विपक्षमा रहेको समाजवादी मोर्चाले आयोजना गरेको कार्यक्रममा राजावादीहरुको कार्यक्रममा भन्दा धेरै जनताको सहभागीता रह्यो । कार्यक्रम शान्त, मर्यादित र सन्देश मुलुक रह्यो । राजावादीहरुको कार्यक्रम हिंसात्मक, प्रतिशोधात्मक, अराजक रह्यो । व्यवस्थाको विकल्प दिन्छौ भन्नेहरु आन्दोलनका माध्यमवाट अपिल गर्न र सन्देस दिन सक्नु पर्दछ । त्यसमा राजावादीहरु पूर्णतःअसफल भए । वरुउल्टै उनीहरुका क्रियाकलापले राजतन्त्रको निरंकुशता र दमन वेहोर्न नपरेको नयाँ पुस्तालाई त्यस वारेमा थोरैभए पनि वुझ्ने मौका मिल्यो ।
आजको युग जनचेतनाले लैस भएको लोकतन्त्रको युग हो । कसैको निहित स्वार्थ, प्रतिसोध वा दुरासयवाट आजको नेपाली समाज प्रभावित हुदैन भन्ने सन्देस पुनः दिनुपर्ने भएको छ ।
हिजोको घटनामा जीवन गुमाएकाहरु प्रति भावपूर्ण श्रद्धान्जली । घाइते सबैको सिघ्रस्वास्थ लाभको कामना । सुरक्षा निकायको संयमताले राजावादीहरुको असलियत उदांगिएको छ । आन्दोलनका नाममा नियोजित रुपमा परिचालित अपराधिक जत्थाको तोडफोड, आगजनी र लुटपाटवाट पीडित भएकाहरुलाई राज्यका तर्फवाट यथोचित सम्वोधन आवश्यक छ । जनतालाई आतंकित बनाउने अपराधिक घटनामा संलग्न व्यक्ति तथा तिनलाई उक्साउने र निर्देशन दिने सबैलाई अविलम्व कार्वाहीको दायरामा ल्याउनु आवश्यक छ ।”








