दाङ, १५ चैत । जिल्ला समन्वय समिति दाङको आयोजनामा शुक्रबार बसेको बैठकले घोराहीमा यातायात सेवा कार्यालय स्थापना गर्न लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरेको छ ।
जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको अध्यक्षतामा बसेको बैठकमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख र सरोकारवाला निकायका पदाधिकारीको सहभागिता थियो ।
घोराही, बंगलाचुली, रोल्पा र प्युठानका केही क्षेत्रमा सवारी साधनको संख्या बढ्दै गएको र यातायात व्यवस्था कार्यालयका सेवा लिन तुलसीपुरसम्म पुग्नुपर्ने बाध्यता रहेको विषयमा छलफल भएको थियो । सवारी चालक अनुमति पत्रको नविकरण, सवारी साधन कर, ब्लुबुक नविकरण, रुट परमिट नविकरण, जाँचपास र अस्थायी रुट परमिटजस्ता सेवा घोराहीबाटै उपलब्ध गराउन यातायात सेवा कार्यालयको आवश्यकता रहेको निष्कर्ष निकालियो ।
बैठकमा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्मा, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, नेपाली कांग्रेस दाङका सभापति शंकर प्रसाद डाँगी, माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्य, राष्ट्रिय जनमोर्चा नेपाल दाङका अध्यक्ष गणेश आचार्य, दाङ उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशी, पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, नागरिक समाज दाङका सचिव नारायण प्रसाद श्रेष्ठ, त्रिशिद्धेश्वरी राप्ती सार्वजनिक यातायात सेवा प्रालि दाङका कार्यवाहक अध्यक्ष मान बहादुर डाँगी, राप्ती अञ्चल संयुक्त ट्रक यातायात व्यवसायी समिति दाङका अध्यक्ष उमेशचन्द्र मज्जैया,र अम्बिकेश्वरी राप्ती सार्वजनिक यातायात व्यवसाय प्रालि दाङका उपाध्यक्ष मोतीलाल न्यौपाने उपस्थित थिए ।
यो निर्णयले स्थानीय स्तरमा यातायात सेवा सहज हुने अपेक्षा गरिएको छ । बैठकले यो प्रस्ताव कार्यान्वयनका लागि प्रदेश सरकारसँग समन्वय गर्ने जिम्मेवारी जिल्ला समन्वय समितिलाई दिएको छ ।








