दाङ, १४ चैत । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले राम्रो काम गरिरहेकाले उनलाई पूरा अवधि काम गर्न दिनुपर्ने धारणा व्यक्त गरेका छन् । रिपोर्टर्स क्लब नेपाल दाङ शाखाले बिहीबार बिहान घोराहीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले आफू सरकारको नेतृत्वमा भएको भए कुलमानलाई पूरा अवधि काम गर्न अवसर दिने बताए ।
उनले सरकारले कुलमानलाई किन हटायो भन्ने कुरा सरकारले नै जान्ने विषय भएको टिप्पणी गरे । साथै, उनले संस्थान र प्राधिकरणजस्ता राज्यका अर्धस्वायत्त निकायहरूमा दलीय हस्तक्षेप र नियन्त्रण अत्यधिक भएको आरोप लगाए । यस्ता समस्यालाई विधिसम्मत रूपमा समाधान गर्न आफू सरकारको नेतृत्वमा रहँदा संस्थान निर्देशन बोर्ड गठन गरेको पनि उनले स्मरण गरे ।
उनले नेपालको अर्थतन्त्र र राजनीति अहिले गम्भीर संकटमा रहेको बताए । मिश्रित निर्वाचन प्रणालीले नै वर्तमान राजनीतिक संरचनामा समस्या निम्त्याएको उनको ठम्याइ छ । प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था नहुँदासम्म यस्तो अस्थिरता कायम रहने उनको दाबी छ ।
अस्थिरताले समस्याको समाधान गर्नुको साटो झन् थप समस्या निम्त्याउने उनको भनाइ छ । उनले सकेसम्म छिटो राष्ट्रिय सहमति कायम गरी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली र प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको व्यवस्थामा जानुपर्ने बताए । पूर्ण समानुपातिक तर प्रत्यक्ष निर्वाचित संसद् र प्रदेश सभा बनाउन सके राष्ट्रपति र मुख्यमन्त्रीले विज्ञहरूसहित मन्त्रिपरिषद् चलाउन सक्ने र त्यसले राम्रो नतिजा दिने उनको विश्वास छ ।
उनले नेपालमा राजतन्त्र भूत भइसकेकोले पछाडि फर्केर समस्याको समाधान नहुने दाबी गरे । नेपाली जनताले ठूलो बलिदान गरेर राजसंस्था हटाएकाले त्यसलाई फर्काउने मूर्खता नहुने उनको टिप्पणी छ । उनले नेपालमा राजसंस्था पुनः आउने सम्भावना नरहेको ठोकुवा गरे ।
लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै भएकोले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।
रिपोर्टर्स क्लबका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको साक्षात्कार कार्यक्रमको सहजीकरण पत्रकार सन्तोष केसीले गरेका थिए ।