राजतन्त्रकालभन्दा गणतन्त्रकाल उत्कृष्ट भएको तथ्यद्वारा पुष्टि

— डा. शुरामणि बेल्बासे

यतिबेला देशमा राजतन्त्रको पुनर्स्थापनाका लागि भनेर काठमाडौँलगायत कतिपय शहरमा फाट्टफुट्ट प्रदर्शन हुने गरेका छन्। नेपालमा राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको भर्खरै १७ वर्ष पुग्दै छ। सामान्यतया अतीतमा संसारका सबै देशमा राजतन्त्र थियो। समाज विकासको आदिम साम्यवादी कालपछि संसारका मानव बस्ती भएका सबै ठाउँमा बलशाली मानिसले राज्य गर्थे, जसलाई राजा भनिन्थ्यो। सुरुमा साना-साना भौगोलिक क्षेत्रमा राजा बनेका व्यक्तिहरू विशाल भूगोलसहितको राज्यको बहुआयामिक फाइदाबाट शक्तिशाली राज्यको राजा बन्ने र वंशको पुरुष मूललाई राजा बनाउने परम्पराको विकास भएको थियो। मानव समाजको विकासको क्रममा संसारभरि हजारौँ राज्यहरूको विकास भएको थियो। ती सबै राज्यहरूमा राजाहरूले राज्य गर्ने क्रममा आफ्ना राज्यहरूको विस्तार गर्न अर्को छिमेकी राज्यलाई आक्रमण गर्ने र राज्य विस्तार गर्ने क्रम लामो समयसम्म चलिरह्यो। सुरुमा संसारभरि सबै राज्यहरूमा राजाले शासन गर्थे। समयक्रममा जनताले निर्वाचित गरेको व्यक्तिले शासन गर्ने परम्पराको विकास हुँदै गयो।

आजभन्दा करिब २६०० वर्ष पहिले हाम्रै देशका विभिन्न भागमा साना-साना गणहरूका राज्य थिए। संसारका अन्य राज्यहरू ग्रीस, एथेन्सलगायतका शहरहरूमा त्यति नै समयमा गणतन्त्रको विकास भएको थियो। प्लेटो र अरस्तुहरूले आधुनिक गणतन्त्रात्मक राज्यको परिकल्पना गरेका थिए। मानव समाजको विकाससँगै राज्यहरूलाई व्यवस्थित गर्नका लागि विभिन्न सिद्धान्तहरूको पनि विकास हुँदै गयो। प्रविधिको विकाससँगै आधुनिक र विशाल राज्यहरूको विकास हुँदै गयो। निरङ्कुश राजतन्त्रात्मक शासन भएका राज्यहरूमा बिस्तारै लोकतन्त्रको स्थापना हुँदै गयो।

बेलायतमा सन् १६४९ जनवरी ३० मा राजा चार्ल्सको हत्या नै गरिएको थियो। सन् १६८८ को रक्तविहीन क्रान्तिबाट राजा जेम्स द्वितीयलाई हटाएर उनकी फ्रान्समा बस्ने छोरी म्यारी द्वितीयलाई महारानी बनाइएको थियो। त्यसयता बेलायतमा नाममात्रको राजतन्त्र आजसम्म रहेको छ। सन् १७९३ जनवरी २१ का दिन फ्रान्सका राजा लुइस सोह्रौँको गिलोटिनमा राखेर हत्या गरिएको थियो। राजाको हत्यापछि स्थापना भएको गणतन्त्रमा पनि शासक बनेका व्यक्तिहरूले आफैँलाई सम्राट घोषणा गर्ने, पुनः क्रान्ति हुने र गणतन्त्र स्थापना हुने क्रममा सन् १९५८ मा पाँचौँ पटक गणतन्त्र स्थापना भएपछि मात्र त्यहाँ गणतन्त्रले स्थायित्व पाएको छ।

जहाँका राजाले जनताका आधारभूत मानवअधिकार पनि हनन गरेर निरङ्कुश र स्वेच्छाचारी शासन चलाउन खोजे, उनीहरू जनताको आक्रोशको निशाना बने। जनताको आन्दोलनले त्यस्ता राजतन्त्रलाई ढाल्यो र ती देशहरूमा आज लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएको छ। हाल संसारका प्रायः सबै देशमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लागू गरिएको छ। जनतालाई सार्वभौम अधिकार सम्पन्न बनाएर आफू सांस्कृतिक राजाको रूपमा रहेका केही देशमा आज पनि नाममात्रका राजतन्त्र छन्।

नेपालमा प्राचीनकालदेखि नै राजतन्त्र रहेको थियो। नेपालको राजतन्त्रको ऐतिहासिक अध्ययन गर्दा हालको राजधानी काठमाडौँमा गोपाल वंशदेखि शाह वंशसम्म छ वटा वंशका राजाहरूले शासन गरेका थिए। शाह वंश सबैभन्दा पछिल्लो वंश हो, जसको समयमा राजतन्त्र नै ढल्यो। छ वटा वंशको राजतन्त्रको अध्ययन गर्दा लिच्छवि काललाई स्वर्णिम काल भनेर पढ्ने गरिन्छ भने शाहकालअन्तर्गत पृथ्वीनारायण शाहको नेपाल एकीकरणमा महत्वपूर्ण योगदान रहेको छ।

आधुनिक नेपालका निर्माताको रूपमा पृथ्वीनारायण शाहलाई स्मरण गरिन्छ। उनले १८२५ मा काठमाडौँलाई विजय गरेपछि शाहकालको गणना गर्दा २०६५ जेठ १५ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुँदासम्म २४० वर्ष आधुनिक नेपालमा शाह वंशको शासन चलेको थियो। पृथ्वीनारायणलाई छाड्ने हो भने शाह वंशका अन्य ११ जना राजाहरूले नेपालको स्वाधीनता र समृद्धिका लागि खासै उल्लेखनीय काम गरेको पाइँदैन। राजा महेन्द्रले नेपालको भौगोलिक विभाजन गरी पूर्व-पश्चिम सडक बनाउन भूमिका खेलेको देखिन्छ, तर अन्य राजाहरूले देशको शासन चलाउने बाहेक उल्लेखनीय काम गरेको देखिँदैन।

नेपालमा शाह वंशीय राजतन्त्र हुँदा संसारका अन्य देशमा निकै धेरै तरक्की भएको पाइन्छ। यही २४० वर्षे शाह वंशीय कालमा मुक्तियारका रूपमा उदाएका राजाका ज्वाइँ र भान्जा (राणा) हरूले १०४ वर्ष जहानियाँ शासन चलाए। शाह वंशका राजखलक र राणा शासकहरूले सबैले देशमा ब्रह्मलूट गर्ने र विदेशमा धन थुपार्ने कार्य गरे। प्रायः सबै राजा र राणा प्रधानमन्त्रीका खलकहरूले यति धेरै मोजमस्ती गरे कि एक जनाले दर्जनसम्म श्रीमतीहरू राख्ने गर्थे। राणा प्रधानमन्त्री जङ्गबहादुरले वैध रूपमा ५२ जना श्रीमती राखेका थिए। उनको मृत्यु नै रौतहट पत्थरघट्टामा उनका आफ्नै जारले गर्दन काटेर भएको थियो।

नेपालमा २०४६ मा बहुदलीय व्यवस्था स्थापनापछि मात्र विकासले तीव्रता पाएको हो। २०४६ देखि २०६५ सम्म शिक्षा, स्वास्थ्य, सडक, बिजुली, खानेपानीमा पहिलाको तुलनामा धेरै विकास भएको थियो। यद्यपि यो समयमा पनि देशमा राजनीतिक स्थायित्व कायम हुन सकेन। राजनीतिक अस्थिरताले अपेक्षित विकास हुन पाएन। यही समयमा २०५८ जेठ १९ मा दरबार हत्याकाण्ड भयो र राजा वीरेन्द्रको वंशविनाश भयो। यो हत्याकाण्ड पनि दरबारभित्रको भोगविलासका कारण भएको तथ्यले पुष्टि गरेको छ।

वीरेन्द्रको वंशविनाशपछि उनका माइला भाइ ज्ञानेन्द्र करिब ३ वर्ष नेपालको राजा बने। राजा बनेपछि ज्ञानेन्द्रले जननिर्वाचित प्रतिनिधिसभा र सरकार दुवै विघटन गरी सम्पूर्ण कार्यकारी अधिकार आफ्नो हातमा लिएर देशमा दलविहीन निरङ्कुश शासन सञ्चालन गर्न थाले। उनको निरङ्कुशताका विरुद्ध देशमा आन्दोलन सुरु भयो। राजनीतिक दलहरूद्वारा सञ्चालित आन्दोलनमा निकै ठूलो दमन गरियो। वाक् स्वतन्त्रता, प्रेस स्वतन्त्रता, हिँडडुल गर्ने स्वतन्त्रता सबैमा प्रतिबन्ध लगाइयो। जनताका सबै मौलिक अधिकारहरू निलम्बन गरियो। २०६२ चैत २४ देखि २०६३ वैशाख ११ गतेसम्म १९ दिन निकै ठूलो जनआन्दोलन भयो। आन्दोलनमा २५ जना जनताका छोराछोरीको हत्या गरियो। सयौँ जनतालाई घाइते बनाइयो। हजारौँलाई जेलको यातना दिइयो।

आन्दोलनमा नृशंस दमन गरियो, तर आन्दोलनको आँधीबेहरीले राजदरबार नै खतरामा परेपछि २०६३ वैशाख ११ गते राति राजा ज्ञानेन्द्रले प्रतिनिधिसभा पुनर्स्थापना भएको घोषणा गरे। प्रतिनिधिसभा पुनर्स्थापना भएपछि देशमा दलहरूको संयुक्त सरकार गठन भयो। सशस्त्र सङ्घर्षमा रहेको माओवादी पनि वार्ता र संवादमा आयो। शान्ति प्रक्रिया प्रारम्भ भयो। २०६३ माघ १ गते अन्तरिम संविधान जारी गरियो। ज्ञानेन्द्रले स्वघोषणामार्फत लगेका अधिकार कटौती गरी अन्तरिम संविधानको परिधिमा ल्याउँदै २०६४ चैत २८ मा संविधानसभा निर्वाचन सम्पन्न भयो। संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकबाट सर्वसम्मत रूपमा नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देश घोषणा गरियो। देशमा सयौँ वर्षदेखि चल्दै आएको राजतन्त्र समाप्त पारियो।

अबको २ महिनापछि देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १७ वर्ष पुग्दै छ। गणतन्त्र स्थापनापछि पनि नेपालमा राजनीतिक स्थायित्व कायम हुन सकेन, यो नै नेपालको समृद्धिमा सबैभन्दा ठूलो समस्या हो। तर २०४६ सम्म संसारमा इथियोपियापछिको दोस्रो गरीब देशका रूपमा रहेको नेपाल हाल १३३ देशमा १०९ औँ स्थानमा पुगेको छ। अर्थात् २०४६ तिर नेपालभन्दा गरीब संसारमा एउटा मात्र देश थियो भने अहिले धेरै देश नेपालभन्दा गरीब छन्। यो तथ्यबाट बहुदल आएपछि यो ३५ वर्षमा, खासगरी गणतन्त्रकालको १७ वर्षमा नेपालमा धेरै विकास भएको पुष्टि हुन्छ।

२०४६ तिर नेपालको कुल ग्राहस्थ उत्पादन ३ खर्ब ६३ अर्ब थियो, हाल ५० खर्ब पुगेको छ। त्यतिबेला ४९ प्रतिशत जनता गरीबीको रेखामुनि थिए भने हाल घटेर २३ प्रतिशत भएको छ। त्यतिबेला देशभर जम्मा ७,३३० किलोमिटर सडक पक्की थियो भने हाल यो बढेर १,००,८०० किलोमिटर भएको छ र देशका सबै जिल्लामा सडक सञ्जाल पुगिसकेको छ। त्यतिबेला आधारभूत खानेपानी जम्मा ३६ प्रतिशतलाई पुगेको थियो भने हाल ९५ प्रतिशत जनताले शुद्ध पिउने पानी करिब आफ्नै घरमा वा नजिकैको पँधेराबाट प्राप्त गर्न सक्ने भएका छन्। पिउने पानीका लागि प्रायः महिलाहरू राति नै उठेर पँधेरा जानुपर्थ्यो, घण्टौँ कुरेर पानी ल्याउनुपर्थ्यो। कुटानी-पिसानीका लागि आजजस्तो घरमा (पोर्टेबल मिल) वा छिमेकमा मिलहरू थिएनन्। घाँस-दाउरा, पँधेरा र ढिकी-जाँतो गर्दा नै महिलाहरूको दिन जान्थ्यो।

२०४६ तिर नेपालको साक्षरता प्रतिशत ४० मात्र थियो। ६० प्रतिशत मानिसहरू निरक्षर थिए। जिल्लामा मुस्किलले ८-१० वटा मात्र माध्यमिक विद्यालय थिए। चर्को शुल्कका कारण पढ्नै सकिँदैनथ्यो। तर आज ७७ प्रतिशत मानिस साक्षर छन्। आधारभूत तहको शिक्षा अनिवार्य र निःशुल्क बनाइएको छ। २०४६ सम्म नेपालमा सञ्चार सेवा निकै महँगो र जटिल थियो। भारतमा भएको आफ्नो आफन्तलाई सम्पर्क गर्न पत्र पुग्न एक महिना लाग्थ्यो। आवाज गर्न पनि कम्तीमा एक दिनभरि हिँडेर सदरमुकाम पुग्नुपर्थ्यो। आज देशको जनसङ्ख्याभन्दा पनि धेरै मोबाइल सिम वितरण गरिएको छ। आज एउटा घरमा दुई-तीनवटा मोबाइल हुनु सामान्य मानिन्छ।

संसारको कुनै पनि कुनामा हुने आफ्नो आफन्तलाई जुनसुकै समयमा प्रत्यक्ष देखेर संवाद गर्न सकिन्छ। २०४६ तिर देशभर जम्मा २०० मेगावाट बिजुली निकालिएको थियो। थोरै जिल्लाका सदरमुकाममा मात्र बिजुली पुगेको थियो। ९० प्रतिशत जनता दियालो र टुकीको उज्यालोमा भर पर्नुपर्थ्यो। आज ३,५०० मेगावाट बिजुली निकालिएको छ र थोरै बिजुली भारतबाट ल्याइएको छ। भारत र बङ्गलादेशमा बेचिएको पनि छ। ९८ प्रतिशत जनता आज बिजुली बत्तीको पहुँचमा छन्। निर्माणाधीन परियोजनाबाट निकट भविष्यमा थप बिजुली थपिँदै छ।

२०४६ तिर नेपालभर जम्मा ९४५ वटा साना-ठूला अस्पताल थिए। जनता स्वास्थ्य सेवाबाट विमुख थिए। बिरामी पर्दा गाउँबाट डोकामा बोकेर अस्पताल पु¥याउनुपर्थ्यो। त्यहाँ पनि राम्रो उपचार पाइँदैनथ्यो। अधिकांश बिरामी धामी-झाँक्रीको झारफुकमा भर पर्दा अकालमै मृत्युबरण गर्नुपर्थ्यो। आज ७,८०० वटा आधुनिक सरकारी अस्पताल बनेका छन्, जहाँ तुलनात्मक रूपमा राम्रो उपचार हुने गर्दछ। स्वास्थ्य बीमा लागू गरिएको छ। परिवारमा एक जनाको बीमाबाट ५ जनाले उपचार पाउने सुविधा छ। आज ज्येष्ठ नागरिक र एकल महिलालाई सामाजिक भत्ता दिने गरिन्छ, जसबाट आर्थिक रूपमा कमजोर मानिसलाई ठूलो राहत पुगेको छ।

२०४६ तिर नेपालीहरूको औसत आयु ५४ वर्ष थियो भने आज ७१ वर्ष पुगेको छ। २०४६ तिर नेपालीहरूको प्रतिव्यक्ति आम्दानी वार्षिक जम्मा ५० डलर थियो, आज बढेर १,४५६ डलर पुगेको छ। मानव विकासका यी सबै सूचकाङ्कबाट गणतन्त्रका १७ वर्ष राजतन्त्रकालभन्दा गुणात्मक विकासको समय भएको तथ्यबाट पुष्टि भएको छ। त्यसकारण कुनै पनि दृष्टिकोणबाट हेर्दा गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन। गणतन्त्रको विकल्प उन्नत स्तरको गणतन्त्र हो, जहाँ समृद्ध नेपाल र सुखी नेपाली सम्भव छ, जुन तथ्यबाट पुष्टि भएको छ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *