गीतकार मजगैयाँको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार एवं गजलकार शशि शर्मा मजगैयाँको नयाँ गीतको भिडियो सार्वजनिक भएको हो ।
प्रेमभावले भरिपूर्ण यो गीतमा समीक्षा अधिकारी र रुद्र शेखर शर्माको स्वर छ । “के छ ओइ सान्नानी तिम्रो चालढाल” बोलको यो गीत शुक्रबार आवाज इन्टरनेशनल युट्युब च्यानलबाट सार्वजनिक भएको छ । गीतमा मजगैयाँले आफैंले सङ्गीत भरेका छन् । गोविन्द अनेकले रेकर्ड गरेको यो गीतको सङ्गीत संयोजन विशाल निरौलाले गरेका छन् ।
समीक्षा पछिल्लो समयकी लोकप्रिय गायिका हुन् भने रुद्र पनि देश-विदेशमा रुचाइएका गायक हुन् । गजलकार मजगैयाँको प्रकाशोन्मुख नयाँ एल्बमका लागि यो गीत रेकर्ड गरिएको उनले बताए । एल्बमका लागि अन्य गीत तथा गजलहरू पनि रेकर्डको तयारीमा रहेको उनले जानकारी दिए ।
क्रान्ति केसीद्वारा निर्देशित यो गीतको छायाङ्कन अर्जुन तिवारीले गरेका छन् । ललितपुरको बज्रबाराहीमा खिचिएको यो गीतमा हालका चर्चित मोडलहरू सुधीर श्रेष्ठ र उषा उप्रेतीले अभिनय गरेका छन् । गजलकार मजगैयाँका यसअघि केही गीत, गजलका एल्बम तथा किताबहरू प्रकाशित भइसकेका छन् । उनका केही फुटकर आधुनिक तथा फिल्मी गीतहरू चर्चामा रहेका छन् ।
नरेन्द्र प्यासीले गाएको “तिम्रो माया मेरो माया छुटाएर कहाँ गयौ”, अञ्जु पन्तले गाएको “तिम्रै यादमा भित्रभित्रै जलिजली बाँचेकी छु”, प्रमोद खरेलले गाएको “माया के हो”, गोविन्द मधुर आचार्यले गाएको “तिमी फुल्दै जानू प्रिया”, अञ्जु पन्तकै “मलाई बिच बाटोमै छोड्ने भए भन ए प्रिय”, प्रकाश रेग्मीले गाएको “तिम्रो माया अन्तैतिर गाढा भएपछि”, बिन्दु परियारले गाएको “मन दुखेर कराउँछु”, सबिना भट्टराईले गाएको “मेरो मुटु रेटिरेटी मलाई माया गर्ने मान्छे” जस्ता गीत तथा गजलहरूले राम्रो व्यावसायिक सफलता पाएका थिए । दुर्गा खरेलले गाएको “यो मखमली चोली आजसम्म एक्लै छ” बोलको गीत पनि उनको चर्चित गीत हो ।
गजलकार मजगैयाँ राष्ट्रिय गजल गायन प्रतियोगितालाई संस्थागत गर्ने अभियन्ता पनि हुन् । उनको नेतृत्वमा राष्ट्रिय स्तरका थुप्रै गजल वाचन तथा गायन प्रतियोगिताहरू आयोजना भएका छन् । उनले विभिन्न रेडियोमा करिब दुई दशक लामो समयसम्म गजलसम्बन्धी कार्यक्रम सञ्चालन गरी गजलको उन्नयन र विकासमा महत्त्वपूर्ण योगदान दिएका छन् ।
वि.सं. २०६१ सालतिर दाङबाट प्रकाशित गजलप्रधान पत्रिका “लोकप्रिय” र “निर्झर” को प्रधानसम्पादकको भूमिका निर्वाह गरेका मजगैयाँले राप्ती समाज काठमाडौंद्वारा प्रकाशित “गजल यात्रा” को सम्पादकीय जिम्मेवारी पनि सम्हालेका थिए ।