चेतना अनलाइन
घाेराही, २ चैत । घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले आफ्नो फेक अडियो बनाएर भ्रम फैलाइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ । उहाँले आफूले नेकपा (एमाले)का महासचिव शंकर पोख्रेलसँग राजस्व हेरफेर तथा फोहरमैला व्यवस्थापनसम्बन्धी कुनै पनि कुराकानी नगरेको स्पष्ट पार्नुभएको छ ।
नगर प्रमुख चौधरीका अनुसार ‘Tethis Lamsal’ नामक व्यक्तिले ‘[email protected]’ मार्फत विभिन्न सञ्चार माध्यममा फेक अडियो पठाएका थिए । उक्त अडियो प्राप्त भएपछि नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय साइबर ब्युरो, भोटाहिटी, काठमाडौँले अनुसन्धान सुरु गरिसकेको छ ।
उहाँका अनुसार नगर प्रमुख र एमाले महासचिव पोख्रेलको फोटो राखेर फेक आवाज प्रस्तुत गरी समाजमा भ्रम फैलाउने प्रयास गरिएको छ । उहाँले यस्तो कार्य राजनीतिक प्रतिशोध साँध्ने उद्देश्यले गरिएको भन्दै यसप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको छ ।
नगर प्रमुख चौधरीले सम्पूर्ण नगरवासी तथा आम जनसमुदायलाई यस्ता भ्रममा नपर्न आग्रह गर्नुभएको छ । साथै अनुसन्धान गरिरहेको प्रहरीले छिट्टै सत्यतथ्य सार्वजनिक गरी संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउने विश्वास व्यक्त गर्नुभएको छ ।