अब किसान सिंचाइ सुविधाबाट वञ्चित हुनु पर्दैन : मन्त्री चौधरी

नवराज शर्मा
लमही, २२ फागुन । लुम्बिनी प्रदेश ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री सीता शर्मा चौधरीसँग स्थानीय जनताले आफ्ना समस्याहरू राखेका छन् । मन्त्री चौधरीले आफ्नो मन्त्रालय र अन्य सम्बन्धित निकायसँग समन्वय गरी समस्याहरू समाधान गर्न प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भेटघाट कार्यक्रममा स्थानीय जनताले विभिन्न समस्याहरू उठाए ।जसमा प्रमुख समस्याहरू खानेपानी, सिंचाइ र राप्ती नदी कटान रहेका छन् । साथै विद्युतिकरणको अभाव र स्यालो ट्युबवेलको काम नहुँदा जनताले ठूलो समस्या भोगिरहेका छन् ।

स्थानीय लिला बहादुर खड्काले भन्नुभयो, “यहाको प्रमुख समस्या खानेपानी र सिंचाइ हो । राप्ती नदी कटान पनि यहाँको अर्को ठूलो चुनौती हो । धेरै टोलमा विद्युत पुग्न सकेको छैन, कतै पोल छैन भने कतै तार र ट्रान्सफर्मर छैन ।”

त्यस्तै अर्का एक स्थानीयले भन्नुभयो, “यहाका जनताले स्वच्छ पिउने पानी पाएको छैन । एउटा मात्र बोरिङले पानी पुर्याउन गाह्रो छ । हामीलाइ खानेपानीको लागि थप बोरिङ र विद्युतिकरणको आवश्यकता छ ।”
“यहाको प्रमुख समस्या खानेपानी, सिंचाइ र नदी कटान हो । अमिलिया राजमार्ग नजिक भएपनि विकासमा एकदम पछाडि छ । आज मन्त्री हाम्रो ठाउँमा आएर हाम्रो समस्या प्रत्यक्ष बुझ्नु भएकोमा हामी खुसी भएका छौं । हामीले धेरै आशा गरेका छौं, मन्त्रीले हाम्रो समस्यामा नजिकबाट ध्यान दिनेछन् ।” अर्का स्थानीय लिलाबहादुर खड्काले भन्नुभयो ।

पूर्व मेयर कुल बहादुर केसिले पनि यहाँका समस्याबारे आफ्नो धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “यहाका जनताले राज्यको महसुस गर्न पाएका छैनन् । स्यालो ट्युबवेलमा विद्युतिकरण नहुदा अलपत्र अवस्था छ । मैले मेयर हुदा केही काम सुरु गरेको थिएँ, जसमध्ये खानेपानी, बर्थिङ सेन्टर र सिंचाइमा ध्यान दिनुपर्ने थियो ।”

मन्त्री सीता शर्मा चौधरीले जनतासँगको भेटघाटको क्रममा भन्नुभयो, “अब किसान सिंचाइ सुविधाबाट पछाडि पर्नुपर्दैन, यो नै हाम्रो ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको पहिलो प्राथमिकता हो । यहाँको समस्या मैले प्रत्यक्ष महसुस गरेको छु । खानेपानी, सिंचाइ र स्वास्थ्यजस्ता क्षेत्रको समग्र विकासका लागि म सधैं प्रतिबद्ध छु ।”

मन्त्रीले आगामी दिनहरूमा स्यालो ट्युबवेलको विद्युतिकरण र अन्य आधारभूत संरचनाको विकासमा पहल गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यहाका अलपत्र अवस्थामा रहेका स्यालो ट्युबवेल, विद्युतिकरणका कार्य छिटै सञ्चालनमा आउनेछन्, यो म मन्त्रालयसँग पहल गर्नेछु । मेरो मन्त्रालय बाहेक अन्य कार्यक्रमका लागि पनि अन्तर-मन्त्रालय समन्वयन गरेर यहाँको विकासको लागि म सधैं तपाईंहरूको साथमा छु ।”

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *