दाङ । नृत्यकलामा अब्बल र स्टेज कार्यक्रमहरूमा अत्यधिक रुचाइएकी ममता केसी अब मोडलिङको यात्रा तय गर्ने योजनामा छिन्। लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम पूर्व मा जन्मेकी ममता हाल पोखरामा बीएससी अध्ययन गर्दैछिन्।

सानैदेखि नृत्यमा रुचि राख्ने उनले विद्यालयस्तरीय प्रतियोगितामा भाग लिँदै थुप्रै पुरस्कार जितिसकेकी छन्। अध्ययनलाई निरन्तरता दिँदै उनले पछिल्लो समय स्टेज कार्यक्रमहरूमा धमाकेदार प्रस्तुति दिँदै आएकी छिन्।
दर्शकलाई मन्त्रमुग्ध पार्ने क्षमता
अत्यन्तै सुन्दर तथा कसिलो जिउडालकी ममता स्टेजमा उत्रनासाथ दर्शकलाई मन्त्रमुग्ध पार्न सफल हुन्छिन्। उनका नृत्य डिजिटल मिडियामा पनि निकै चर्चित छन्। अनलाइनमा उनको प्रस्तुति रुचाइएपछि मोडलिङ क्षेत्रमै भविष्य बनाउने प्रेरणा पाएको उनले बताइन्।

परिवारको साथ र मोडलिङको सपना
पिता हर्क बहादुर खत्री र आमा धन कुमारी खत्री को कान्छी सुपुत्री ममताले सानैदेखि नृत्यमा रुचि देखाएकी थिइन्। परिवारको पूर्ण समर्थनका कारण उनी अध्ययन र कलालाई सँगै अघि बढाउन सफल भएकी छन्।
अब, ममताले राष्ट्रकै अब्बल मोडल बन्ने लक्ष्य राखेकी छन्। प्रकृतिसँग रमाउन रुचाउने ममता देश तथा विदेशको यात्रा गर्दै आफ्नो कला अझ उचाइमा पुर्याउने चाहना व्यक्त गर्छिन्। “यदि निरन्तर मिहिनेत गरेँ भने, मोडलिङमा छुट्टै पहिचान बनाउन सक्नेमा म विश्वस्त छु,” ममताले भनिन्।