चेतना अनलाइन
घाेराही, १८ फागुन । घोराही उपमहानगरपालिका वडा नम्बर १ मा महिलाहरूको पाठेघर जाँच शिविर सञ्चालन गरिएको छ ।
१ नम्बर वडा कार्यालयको आयोजनामा सञ्चालित शिविरमा वडाका विभिन्न स्थानमा रहेका महिलाहरूले पाठेघरको जाँच गराएका छन् । शिविर उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि घोराही उपमहानगरपालिकाकी उपमेयर हुमा डिसीले महिलाहरूको पाठेघरको क्यान्सर अहिले गम्भीर समस्याको रुपमा देखापरेको बताउनुभयो । उहाँले समयमै रोग पहिचान हुन सके उपचार सहज हुनसक्ने भएकाले सबै महिलाहरूले अनिवार्य रुपमा समयसमयमा पाठेघरको चेकजाँच गर्नुपर्ने आवश्यकता औल्याउनु भयो ।
कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नं १ का अध्यक्ष राममणी पाण्डेयले स्वास्थ्य नै धन भएकाले नागरिकको स्वास्थ्य संवेदनशीलतातर्फ उपमहानगरपालिका तथा वडा कार्यालय गम्भीर भएको बताउनुभयो । उहाँले भौतिक पूर्वाधार निर्माणलाई मात्र विकासको आधार मान्न नसकिने उल्लेख गर्दै मानवीय विकासतर्फ पनि आफूहरुले निरन्तर ध्यान दिइरहेको बताउनुभयो । समृद्ध वडा र सुखी वडावासी निर्माण गर्ने अभियानमा आफूले लामो समयदेखि निरन्तर काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रमको सञ्चालन वडा स्वास्थ्य प्रमुख बालाराम राेकाले गर्नुभएको थियाे ।