चेतना अनलाइन
घोराही, १३ फागुन । घोराही उपमहानगरपालिकालाई आगामी २०८३ वैशाखसम्म लैङ्गिक हिंसा नियन्त्रित नगर बनाउने विषयमा सरोकारवालासँग अन्तरक्रियात्मक बैठक बसेको छ ।
लैङ्गिक हिंसा निवारण कार्ययोजना निर्माणका विषयमा सरोकारवालासँग बैठक बसेको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख नरुलाल चौधरीले लैङ्गिक हिंसा निवारण सबैको साझा विषय भएको बताउनुभयो । वडा तहबाटै यसमा कार्यक्रम र बजेट व्यवस्थापन गरेर नागरिकहरूलाई अभियानमा सहभागी बनाउन सुझाव दिनुभयो ।
त्यस्तै, उपप्रमुख हुमाकुमारी डिसीले सामाजिक, आर्थिक, सांस्कृतिक विकासका लागि लैङ्गिक हिंसा निवारण अनिवार्य भएको बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी, प्रशासन महाशाखा प्रमुख बासुदेव आचार्य, सामाजिक विकास समितिका संयोजक राममणि पाण्डे, सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढा, प्रहरी नायब उपरीक्षक, नेपाल पत्रकार महासङ्घ दाङका अध्यक्ष सन्तोष सुवेदीलगायतकाले यो अभियानलाई सबैले साथ दिएर सभ्य र शान्त समाज बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा विज्ञहरू विकिरण गौतम र दुर्गालाल केसीले लैङ्गिक हिंसा निवारणका सूचकका विषयमा जानकारी दिनुभयो । कार्यक्रमको सहजीकरण महिला, बालबालिका तथा सामाजिक विकास शाखाका प्रमुख मोतीकुमारी विश्वकर्माले गर्नुभएको थियो ।