काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं नेकपा (एमाले) केन्द्रीय सदस्य मेनका पोखरेलले दाङमा व्यवस्थित औद्योगिक क्षेत्र निर्माणको माग गर्दै सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद पोखरेलले दाङ नेपालकै सम्भावनायुक्त जिल्ला भए पनि औद्योगिक क्षेत्र नहुँदा स्थानीय उद्यमी, व्यवसायी तथा युवाहरू रोजगारीको अवसरबाट वञ्चित भइरहेका बताउनु भयो । उहाँले अनियन्त्रित रूपमा फैलिएको उद्योगधन्दाका कारण कृषि उत्पादनमा असर पार्नुका साथै वातावरणीय प्रदूषण, जमिन अतिक्रमण जस्ता समस्या बढ्ने खतरा रहेको उल्लेख गर्नु भयो ।
“दाङ रणनीतिक रूपमा नेपालकै महत्वपूर्ण व्यापारिक केन्द्र बन्न सक्ने सामर्थ्य बोकेको क्षेत्र हो । यदि सरकारले दीर्घकालीन दृष्टिकोणका साथ औद्योगिक क्षेत्र निर्माणका लागि योजना बनाएर बजेट विनियोजन गर्छ भने स्वदेशी तथा विदेशी लगानी भित्र्याउने मात्र होइन, रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ,” सांसद पोखरेलले भन्नु भयो ।
उहाँले सरकारलाई दाङमा व्यवस्थित औद्योगिक क्षेत्र निर्माण प्रक्रिया तत्काल अघि बढाउन आग्रह गर्नु हुँदै उद्योग स्थापना गर्न सहज वातावरण सिर्जना गर्न आवश्यक नीति तथा प्रोत्साहन कार्यक्रम ल्याउन माग गर्नु भयो । अन्यथा, समयमै आवश्यक कदम नचालिए दाङको आर्थिक सम्भावना गुम्ने र उद्योगको नाममा कृषि योग्य जमिन मासिने, अनियन्त्रित बसोबास बढ्ने तथा वातावरणीय क्षति पुग्ने खतरा रहने उहाँको भनाइ थियो ।